काठमाण्डौमा अपार्टमेन्ट स्टक आउट हुने चरणमा पुगेका छन् भने नयाँ अपार्टमेन्ट परियोजना सुरु हुन सकेका छैनन् । तत्कालै सुरु हुने परियोजना सकिन पनि कम्तीमा दुई बर्ष लाग्छ ।

अहिले काठमाडौंमा गगनचुम्बी अपार्टमेन्ट किनेर बस्न खोज्ने बढेका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले पनि अपार्टमेन्टको बिक्री राम्रै भइरहेको देखाउँछ । तर, उपलब्ध अपार्टमेन्टको स्टक सकिदैछ । ०७२ को भूकम्पपछि नयाँ अपार्टमेन्ट पनि बनेका छैनन् ।
यतिबेला काठमाण्डौमा अपार्टमेन्ट स्टक आउट हुने चरणमा पुगेका छन् भने नयाँ अपार्टमेन्ट परियोजना सुरु हुन सकेका छैनन् । तत्कालै सुरु हुने परियोजना सकिन पनि कम्तीमा दुई बर्ष लाग्छ । त्यसैले आगामी दुई तीन बर्ष काठमाण्डौमा अपार्टमेन्टको माग तिब्र हुने पूर्ति कमजोर हुने देखिन्छ ।
तर, कुनै बेला यस्तो पनि थियो कि काठमाण्डौमा हजारौं युनिट अपार्टमेन्ट थिए । ठूलाठूला अपार्टमेन्ट टावरहरु भूतघरजस्तै बनेका थिए । किन्ने ग्राहक नहुँदा धेरै अपार्टमेन्ट परियोजनाले आफ्नो अस्तित्व गुमाउनुपर्यो ।
संयोग नै मान्नुपर्छ तीमध्ये अधिकांश भवन होटलमा परिणत भए । भूकम्पपछि गगनचुम्बी अपार्टमेन्टमा बस्न मान्छे तर्सिएपछि डेभलपरले लगानी सुरक्षित गर्न पनि बहुतले आवास परियोजनालाई होटलमा परिणत गरेका हुन् । काठमाण्डौमा होटलमा परिणत भएका अपार्टमेन्टको नालीवेली यस्तो छ–
झम्सिखेलको अपार्टमेन्टमा भिभान्ता होटल

चौधरी ग्रुपले झम्सिखेलमा सञ्चालन गरिरहेको भिभान्ता होटलको भवन पनि सुरुमा अपार्टमेन्टका लागि निर्माण थालिएको थियो । भिबोर विकास बैंकले निर्माण गरेको भिबोर अपार्टमेन्टको भवनलाई किनेर तारे होटलमा परिणत गरिएको हो । १३ आना क्षेत्रफलमा २७ एकाईको अपार्टमेन्ट निर्माणको लागि भिबोरले उपत्यका विकास प्राधिकरणबाट स्वीकृति पाएको थियो ।
सिल्भरसिटीको एउटा टावरमा होटल बनाइँदै

तस्वीर श्रोत: सिल्भर सिटी अपार्टमेन्ट
व्यवसायी दीपक मलहोत्राले कालिकास्थानको सिल्भरसिटी अपार्टमेन्टको पछाडिको टावरलाई होटलमा परिणत गर्दैछन् । भवनको सबैभन्दा माथिल्लो भागमा प्रिमियम रेष्टुरेन्ट एड्रेस लाउञ्ज बार सञ्चालनमा आइसकेको छ । सर्भिस अपार्टमेन्टका रुपमा विकास गर्न लागिएको भवनलाई होटल बनाएर सञ्चालन गर्ने सोँच मलहोत्राले बनाएका छन् ।
सानेपाको हाउजिङमा एल्लो हाउस होटल
होटल संघ नेपाल (हान)का पूर्वअध्यक्ष श्यामसुन्दरलाल कक्षपतिले ललितपुरको सानेपामा निर्माण गरेको अपार्टमेन्टलाई एल्लो हाउस होटलमा परिणत गरेका छन् । होटल व्यवसायी योगेन्द्र शाक्यले ताहाचलको हाउजिङमा एम्बेस्डर अपार्टमेन्ट होटल सञ्चालनमा ल्याइसकेका छन् ।
धुम्बाराहीको अपार्टमेन्टमा तीनतारे होटल

तस्वीर श्रोत: होटल अकामा
घरजग्गा व्यवसाय हरि श्रेष्ठले धुम्बाराहीमा निर्माण थालेको हेभन्स भिलेज अपार्टमेन्टमा अहिले होटल सञ्चालनमा आइसकेको छ । यो परियोजना पुरा गर्न नसकेपछि श्रेष्ठले सानिमा समूहलाई उक्त भवन बिक्री गरे । एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछाने प्रवद्र्धक भएको सानिमा समूहले निर्माणाधिन अपार्टमेन्ट भवन खरिद गरेर ‘होटल अकामा’ सञ्चालनमा ल्याइसकेको छ ।
अपार्टमेन्ट बनाउन लागेको भवनलाई रि–डिजाइन गरेर आकर्षक होटलमा रुपान्तरण गरिएको हो । त्यहाँ दुईवटा निर्माणाधिन अवस्थाका भवन खरिद गरी तला थपेर होटल बनाइएको छ । होटलको इन्टेरियर डिजाइन गर्दा नेवारी र तिब्बतीयन मौलिक कला संस्कृतिलाई फ्युजन गरिएको छ ।
द रेसिडेन्सेस् अपार्टमेन्ट बन्दैछ होटल हायात प्यालेस
व्यवसायिक घराना गोल्यान समूहले सोल्टीमोडमा बनाइरहेको प्रिमियम अपार्टमेन्ट परियोनालाई पाँचतारे होटलमा परिणत गर्दैछ । यो परियोजनाका दुईवटा भवनमध्ये एउटा भवनमा ‘होटल हायात प्यालेस’ सञ्चालन गर्न लागेको समूहका अध्यक्ष पवन गोल्यान बताउँछन् । उनका अनुसार पाँचतारे होटल सञ्चालनका लागि अन्तिम तयारीमा पुगिसकेको छ ।

यही होटलमार्फत गोल्यान समूह हस्पिटालिटी बिजनेशमा पनि प्रवेश गर्न थालेको छ । गोल्यान परिवारले सुरुमा दुईवटा टावर बनाएर ‘द रेसिडेन्सेस्’ नामक अपार्टमेन्ट निर्माण अगाडि बढाएको थियो । एउटा टावरमा सञ्चालन गर्न लागिएको होटलमा १५६ कोठाहरु हुने बताइएको छ ।
सुन्धाराको अपार्टमेन्टमा पाँचतारे होटलको तयारी

घरजग्गा व्यवसायी इच्छाराज तामाङले पाँच वर्षअघि सुन्धारामा सिभिल होम्स अपार्टमेन्ट निर्माण सुरु गरेका थिए । गत साउनमा अजेयराज सुमार्गीलाई परियोजनाका भवन बिक्री गरेपछि उनले होटल चलाउने मनस्थिती बनाएका छन् । सिभिल समूहले २३९ युनिट विलासी अपार्टमेन्ट सञ्चालनमा ल्याउने गरी काम गरिरहेको थियो । यो परियोजनामा ६ रोपनी क्षेत्रफलमा ११ तलाका तीनवटा टावर हुनेछन् ।
रबिभवनको अपार्टमेन्टमा होटल क्राउन इम्पेरियल

काठमाडौंको रविभवनमा निर्माण गरिएको अपार्टमेन्ट परियोजना पनि चारतारे होटलमा परिणत भइसकेको छ । व्यवसायी सुधीरमान मास्केले अपार्टमेन्टका लागि स्वीकृति लिएर बनाएको अर्किड टावरलाई पछि होटलमा परिणत गरेका हुन् । अपार्टमेन्टको डिजाइन र संरचनामा फेरवदल गरी होटल सञ्चालनमा ल्याइएको छ । चार रोपनी चार आना क्षेत्रफलमा फैलिएको परियोजनामा ४८ एकाई अपार्टमेन्ट निर्माण गर्ने योजना थियो । यो होटलमा करीव डेढ अर्ब रुपैयाँ लगानी भएको बताइएको छ ।
ग्वार्कोमा अलपत्र अपार्टमेन्टमा होटल चलाउने तयारी

ललितपुरको ग्वार्कोमा केही वर्षदेखि अपार्टमेन्ट निर्माणको चरणमै अलपत्र देखिन्छ । गुण समूहले निर्माण गरेर अलपत्र अवस्थामा पुगेको गुण अपार्टमेन्टलाई होटलमा रुपान्तरण गर्न उपत्यका विकास प्राधिकरणसँग अनुमति मागेको छ । तर, स्वीकृति पाउन भने अझै बाँकी छ ।
भक्तपुरको १७ तले न्यौपाने टावर्समा बिजनेश कम्पलेक्स र अपार्टमेन्ट

भक्तपुरको भाटभटेनीसँगै मुलबाटोमा रहेको निर्माणाधिन अवस्थामा रहेको १७ तलाको ‘न्यौपाने टावर्स’मा बिजनेश कम्पलेक्स र अपार्टमेन्ट बनाइने भएको छ । सौरभ समूहको भगिनी कम्पनी शुभश्री जगदम्बा डेभलपरले निर्माण गरेको भवन सुरुमा आवासीय अपार्टमेन्टका लागि निर्माण गरिएको थियो । तर पछि मापदण्ड नपुगेको भनेर निर्माण रोकिएपछि भवन अलपत्र छ ।
यहाँ १७ तलाको एउटा र अगाडिपट्टी अर्को पाँच तलाको भवन छ । एक समय होटल सञ्चालन गर्ने सोँचमा पुगेका विष्णु न्यौपाने अहिले १७ तले टावरमा अपार्टमेन्ट र ५ तले भवनमा बिजनेश कम्पलेक्स सञ्चालन गर्ने गरी अगाडि बढेका छन् ।
घट्टेकुलोको अपार्टमेन्टमा मेडिकल कलेज

घट्टेकुलोमा रहेको अपार्टमेन्ट भवनमा मेडिकल कलेज सञ्चालनको तयारी छ । डा. गोविन्द केसीको सत्याग्रहपछि काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म मेडिकल कलेज खेल्न नपाउने निर्णयसँगै उक्त भवनमा अस्पतालसमेत सञ्चालन हुन सकिरहेको छैन ।
ग्रान्डी अपार्टमेन्टमा ग्रान्डी इन्टरनेशनल हस्पिटल

काठमाडौंको टोखामा रहेको चर्चित ग्रान्डी इन्टरनेशनल हस्पिटलको भवन पनि सुरुमा अपार्टमेन्ट (आवास) परियोजनाका लागि स्वीकृति लिएर बनाइएको थियो । तर, पछि बहुतले आवास परियोजनाभित्र रहेको एउटा भवनलाई मोडिफाई गरेर हस्पिटल सञ्चालनमा ल्याइएको हो । त्यहाँका अरु टावरलाई भने अपार्टमेन्टकै रुपमा विकास गरिएको छ ।