घरजग्गा बेच्दा कुन अवस्थामा लाभकर तिर्नु पर्छ वा पर्दैन, हेर्नुहोस् केही उदाहरण

नेपालको कानूनले सामान्यतयाः व्यापार व्यवसायमा नलगाइएको घर-जग्गालाई गैर- व्यवसायिक करयोग्य सम्पत्ति मानेको छ। विभिन्‍न परिस्थितिको लेखाजोखा गरेर मात्र कुनै निजी सम्पत्ति गैर व्यावसायिक करयोग्य सम्पत्ति हो वा होइन भन्‍ने कुरा निर्क्यौल गरिन्छ।  

367B408218B985F-icon.png
11845views
D756137537FD2BC-_M1A1179.JPG

जसरी तपाईंले कुनै व्यवसाय वा जागिरबाट गरेको आम्दानीमा कर लाग्छ, त्यसैगरी तपाईंको स्वामित्वमा रहेको घरजग्गा बिक्रिबाट गरेको आम्दानीमा पनि कर लाग्छ । कुनै पनि घरजग्गा कारोबारबाट तपाईंले नाफा लिनुभएको छ भने त्यस्तो खुद नाफामा पूँजीगत लाभकर आकर्षित हुन्छ ।

तर, कस्तो खालको घरजग्गाको कारोबार वा हक हस्तान्तरणमा कर लाग्छ भन्‍ने कुरा कारोबारको प्रकृति हेरी फरक–फरक नियम लागू हुन्छ । अर्थात लाभकर नलाग्‍ने थुप्रै व्यवस्था कानुनले गरेको छ। आयकर ऐनले कस्तो घरजग्गा करयोग्य हो र कस्तो कर योग्य हैन् भनी वर्गीकरण गरेको छ । 

यदि तपाईंले आफ्नो परिवारका सदस्यबिच हक हस्तान्तरण गर्नुभएको छ भने त्यस्तो अवस्थामा लाभकर तिर्नुपर्दैन । साथै स्वामित्व अबधि, कारोबार गरिएको रकम र कारोबार हुनेहरुको नाता सम्बन्धका आधारमा पनि कर लाग्छ कि लाग्दैन भनी कानुनले ब्याख्या गरेको छ ।

नेपालको कानूनले सामान्यतयाः व्यापार व्यवसायमा नलगाइएको घर-जग्गालाई गैर- व्यवसायिक करयोग्य सम्पत्ति मानेको छ। विभिन्‍न परिस्थितिको लेखाजोखा गरेर मात्र कुनै निजी सम्पत्ति गैर व्यावसायिक करयोग्य सम्पत्ति हो वा होइन भन्‍ने कुरा निर्क्यौल गरिन्छ।  अर्थात, निजी सम्पत्ति किनबेच गर्दा त्यस सम्पत्तिको परिभाषा व्यवसायिक करयोग्य सम्पत्ति भनेर गर्न सक्ने अवस्था रहेको खण्डमा मात्र पूँजीगत लाभकर लागू हुन्छ। 

लाभकरको दर 

प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको जग्गा तथा भवनको निःसर्गमा भएको लाभमा आयकर ऐनको अनुसूचि–१ को दफा १ मा तोकिएको दरले कर लाग्छ ।प्राकृतिक व्यक्तिको जग्गा तथा भवनको निःसर्गमा भएको लाभमा गैर व्यावसायिक करयोग्य सम्पत्तिको लागि तोकिएको दरले कर लाग्ने व्यवस्था आयकर ऐनमा रहेको छ । आयकर ऐनको अनुसूचि–१ को दफा १ मा गैर व्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा भवन) मा लाग्ने करको सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ:

(१) निःसर्ग भएको गैर व्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व पाँच वर्ष वा सोभन्दा बढी भएको छ भने दुई दशमलव
पाँच प्रतिशतका दरले कर लाग्नेछ ।

(२) निःसर्ग भएको गैर व्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व पाँच वर्ष भन्दा कम रहेको छ भने पाँच प्रतिशतका दरले कर लाग्नेछ ।

आयकर ऐन, २०५८ ले कुनै प्राकृतिक व्यक्तिको गैर व्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा भवनको निःसर्गमा भएको लाभमा लाग्ने कर निःसर्ग भएको सम्पत्तिमा रहेको स्वामित्वको अवधिको आधारमा फरक फरक दरले कर लाग्ने व्यवस्था गरेको छ । कुनै व्यक्तिको निःसर्ग भएको जग्गा तथा भवनमा सो व्यक्तिको स्वामित्व ५ वर्ष भन्दा कम रहेको छ भने निःसर्ग भएको जग्गा तथा भवनमा भएको लाभमा ५ प्रतिशतको दरले कर लाग्नेछ । यसैगरी व्यक्तिको ५ वर्ष भन्दा बढी स्वामित्वमा रहेको जग्गा तथा भवनको निःसर्गमा भएको लाभमा २.५ प्रतिशतको दरलेमात्र कर लाग्नेछ । 

सम्पत्ति बेच्दा एउटै आर्थिक वर्षमा १० लाख बढीको मुल्यांकन राखेर बेच्नु भयो भने माथि उल्लेख गरिए अनुसारका हिसाबले लाभकर तिर्नु पर्ने हुन्छ । कुनै पनि घरजग्गाको बिक्री मूल्य सरकारी मुल्यांकन भन्दा बढी राख्न पाउनुहुन्छ तर सरकारले तोकेको मूल्याङ्कनभन्दा कम हुनुचाहिँ भएन। 

कस्तो अवस्थामा लाभकर तिर्नु पर्छ कस्तो अवस्थामा पर्दैन ?

आन्तरिक राजस्व विभागले जारी गरेको जग्गा तथा घरजग्गा निःसर्गमा पूँजीगत लाभकर सम्बन्धी निर्देशिका, २०७२ ले निजी घरजग्गा बिक्री गर्नु वा त्यसको हक अरू कसैको नाममा हस्तान्तरण गर्नु समेतलाई "निसर्ग" भनेर जनाएको छ।  यही निर्देशिकाले निम्‍न अवस्थाका सम्पत्ति गैर व्यावसायिक करयोग्य सम्पत्ति भित्र नपर्ने भएकाले पूँजीगत लाभ कर तिर्नु नपर्ने भनी उल्लेख गरेको छ:

(१) कुनै प्राकृतिक व्यक्तिको निम्न अवस्थाको निजी भवन 

(क) अविच्छिन्‍न दश वर्ष वा सोभन्दा बढी अवधि स्वामित्वमा रहेको, र
(ख) त्यस्तो व्यक्तिले अविच्छिन्‍न वा पटक-पटक गरी कूल दश वर्ष वा सोभन्दा बढी बसोबास गरेको, 

(२) कुनै प्राकृतिक व्यक्तिको दशलाख रुपैयाँभन्दा कम मूल्यमा हक हस्तान्तरण गरेको जग्गा, घरजग्गा तथा निजी भवन ।

३) तीन पुस्ते सम्बन्धका बिचमा हुने हक हस्तान्तरण

कानुनको यो व्यवस्थाको अर्थ के हो त ? एकैछिन यसको ब्याख्या हेरौं–

(१) कुनै प्राकृतिक व्यक्तिको निम्‍न अवस्थाको निजी भवन 

(क) अविच्छिन्‍न दश वर्ष वा सोभन्दा बढी अवधि स्वामित्वमा रहेको, र
 (ख) त्यस्तो व्यक्तिले अविच्छिन्‍न वा पटक पटक गरी कूल दश वर्ष वा सोभन्दा बढी बसोबास गरेको, 

“निजी भवन” भन्‍नाले भवन र भवनले ओगटेको क्षेत्रफल बराबरको जग्गा वा एक रोपनी जग्गा मध्ये जुन घटी हुन्छ सोलाई सम्झनुपर्छ । कुनै प्राकृतिक व्यक्तिको अबिच्छिन्‍न (लगातार) दश वर्ष वा सो भन्दा बढी स्वामित्व रहेको र सो व्यक्तिले अविच्छिन्‍न वा पटक पटक गरी कुल दश वर्ष वा सोभन्दा बढी बसोबास गरेको निजी भवनलाई व्यक्तिगत अर्थात कर नलाग्‍ने सम्पत्ति मानिएको छ । 

कुनै व्यक्तिको निजी भवन गैर व्यावसायिक करयोग्य सम्पत्ति नमानिन सो व्यक्तिले सो भवन अबिच्छिन्‍न दश वर्ष वा सो भन्दा बढी आफ्नो स्वामित्वमा राखेको हुनुपर्ने र सो व्यक्ति सो भवनमा अबिच्छिन्‍न वा पटक पटक गरी दश वर्ष वा सो भन्दा बढी बसोबास गरेको (दुवै अवस्था पुरा गरेको) हुनु अनिवार्य रहेको छ । 

(२) कुनै प्राकृतिक व्यक्तिको दशलाख रुपैयाँभन्दा कम मूल्यमा निःसर्ग गरेको जग्गा, घरजग्गा तथा निजी भवन ।

कुनै प्राकृतिक व्यक्तिको घरजग्गा (घर तथा घरले ओगटेको क्षेत्रफल वरावरको जग्गा) गैरव्यावसायिक करयोग्य सम्पत्तिको रुपमा पहिचान हुन माथि बुँदा १ को (क) र (ख) मा उल्लेख भएको अवस्था हुनु हुँदैन । प्राकृतिक व्यक्तिको निजी भवनमा स्वामित्व राख्‍ने र दश वर्ष वा सोभन्दा बढी अवधि पटक पटक वा अविच्छिन्‍न रुपमा बसोबास गरेको अवस्था पूरा भएको हुनु पर्दछ । यी दुई अवस्था पुरा नभएको घर तथा घरले ओगटेको घरजग्गाको निःसर्ग बापत प्राप्त भएको रकम दश लाखभन्दा बढी भएको अवस्थामा त्यस्तो घरजग्गा गैर व्यावसायिक करयोग्य सम्पत्तिको रुपमा पहिचान हुन्छ । प्राकृतिक व्यक्तिको निःसर्ग भएको कस्तो घर वा घरजग्गा गैर व्यावसायिक सम्पत्ति हुन्छ वा हुँदैन भन्‍ने सम्वन्धमा निम्‍न उदाहरणले स्पष्‍ट हुन्छ ।

उदाहरण: १ 

हरिशरण पाण्डेको काठमाण्डौं स्थित नयाँ वानेश्‍वरमा रहेको घर उनले २०७६ साल वैशाखमा भिमशरण क्षेत्रीलाई रु. एक करोडमा बिक्री गरेका रहेछन्। हरिशरण पाण्डेलाई उक्त घर अंशवण्डाको रुपमा २०७० साल श्रावणमा निजको वुवाबाट प्राप्त भएको रहेछ । हरिशरण पाण्डेले बिक्रीको माध्यमबाट निःसर्ग गरेको घरमा निजको स्वामित्व दश वर्ष भन्दा कम रहेको र दश लाखभन्दा बढी मूल्यमा निःसर्ग भएकोले उक्त घर बिक्री गर्दा सो घर गैर व्यावसायिक करयोग्य सम्पत्ति हुन्छ । यस्तो सम्पत्ति बिक्रि हुँदा कूल रकमलाई नै मुनाफा मानी पुँजीगत लाभकर दाखिला गर्नु पर्दछ ।

(क) स्वामित्व अवधिको उदाहरण:

उदाहरण: १ क

प्रेमप्रसाद आचार्यले काठमाडौंमा २०६२ साल कार्तिक २३ गते दुई करोड रुपैयाँ पर्ने एक भवन खरिद गरेका रहेछन्। निजले सो भवन २०७२ साल पुष २६ गते तिन करोड रुपैयाँमा बिक्री गरेका रहेछन् । निज २०६२ साल कार्तिक २३ गतेदेखि २०७२ साल पुष २६ गतेसम्म पटक पटक गरी कुल १२० दिन विदेश गएका रहेछन्। यस सम्पत्तिका सन्दर्भमा निज प्रेम सो भवनको दश वर्षभन्दा बढीको स्वामी भए तापनि सो भवनमा निज प्रेम अबिच्छिन्‍न वा पटक पटक गरी दश वर्षभन्दा कम बसोबास गरेको कारण उपरोक्त भवन गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ । तर निज प्रेमले उक्त भवन दुई महिनापछि बिक्री गरेको भए निजले पटक पटक गरी दश वर्ष भन्दा बढी बसोबास गरेको अवस्था पनि पुरा हुने हुँदा सो भवन गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिदैनथ्यो।

उदाहरण: २ 

दिनकर झा बीरगंज महानगरपालिका वडा नं. १० स्थित पैतृक घरमा २०४० सालदेखि बस्दै आएका रहेछन्। उक्त घर उनको वुवाको स्वामित्वमा रहेकोमा २०६५ सालमा निजको वुवाको स्वर्गारोहण भएपश्‍चात सो घर उनको स्वामित्वमा आएको रहेछ । दिनकर झाले उक्त घर २०७४ साल माघमा रु.असी लाखमा  कुनै संस्थालाई बिक्री गरेका रहेछन्। यसरी बिक्री गरेको घरमा दिनकर झा दश वर्षभन्दा बढी बसोबास गरेको भए तापनि सो घर निजको स्वामित्वमा दश वर्ष भन्दा कम रहेकोले घर बिक्री गर्दा रु.असी लाख रकम प्राप्त भएको सो घर गैर व्यावसायिक करयोग्य सम्पत्ति हुन्छ र ८० लाख रुपैयाँकै पूँजीगत लाभकर तिनुृपर्छ । 

उदाहरण: ३ 

दिनेश शर्माले काठमाडौंको ठमेलमा २०५० सालमा जग्गा खरिद गरी भवन निर्माण गरेका रहेछन्। निजले निर्माणपश्‍चात सो भवन रेष्टुरेण्ट व्यवसाय सञ्‍चालनको लागि रिक्रीएशन प्रा.लिलाई भाडामा दिएका रहेछन्। निजले सो भवन २०६५ सालमा रिक्रियशन प्रा.लि.लाई नै रु.पाँच करोडमा बिक्री गरेका रहेछन्। दिनेश शर्माले बिक्री गरेको भवनमाथि निजको स्वामित्व दश वर्षभन्दा बढी भएता पनि निजले सो भवनमा दश वर्षभन्दा कम बसोबास गरेकोले बिक्री गरिएको उक्त भवन गैर व्यावसायिक करयोग्य सम्पत्तिको रुपमा पहिचान हुन्छ र बिक्री गर्दा भएको लाभमा पुँजीगत लाभकर आकर्षित हुन्छ ।

(ख) रकम सीमाको उदाहरण

उदाहरण :४ 

सतिश माथेमाले ललितपुरको सानेपामा २०५५ सालमा आफ्नो नाममा जग्गा खरिद गरी सोही वर्ष घर निर्माण गरी बसोबास गर्दै आएका रहेछन्। निजले उक्त घर २०७५ सालमा रु. एक करोड पचास लाखमा क्षितिज विद्यालयलाई बिक्री गरेका रहेछन्। सतिश माथेमाले बिक्री गरेको उक्त घरको बिक्री मूल्य दश लाख रुपैंयाँभन्दा बढी भएको तर सो घरमाथि उनको स्वामित्व दश वर्ष भन्दा बढी भएको र बसोबास समेत दश वर्ष भन्दा बढी गरेकोले निजले बिक्री गरेको सो घर गैर व्यावसायिक करयोग्य सम्पत्ति हुँदैन । यस्तोमा पुँजीगत लाभकर गणना गर्नु पर्दैन ।

उदाहरण: ४ क

गुठी संस्थानले आफनो स्वामित्वमा रहेको जनकपुर उपमहानगरपालिका वडा नं. १ स्थित १२ कठ्ठा जग्गा २०७६ साउन महिनामा रु. ६० लाखमा जनकपुर उपमहानगरपालिकालाई बिक्री गरेको रहेछ । गुठी संस्थानको लागि यो जग्गा व्यवसायिक सम्पति होइन । आयकर ऐन, २०५८ को दफा २ को उपदफा (व) अनुसार गुठी संस्थान प्राकृतिक व्यक्ति नभएकोले सोही दफाको उपदफा (द) बमोजिम गैर व्यावसायिक करयोग्य सम्पति पनि होइन । तथापि गुठी संस्थानले आफनो स्वामित्वमा रहेको जग्गा निसर्ग गरेकोले आयकर ऐन, २०५८ को दफा ९५क. को उपदफा (६) बमोजिम निसर्ग भएको मूल्यमा मालपोत कार्यालयले रजिष्‍ट्रेशनका बखत एक दशमलव पाँच प्रतिशतका दरले हुने रु. नव्बे हजार अग्रिम कर असुल गर्नुपर्दछ । कुनै एकलौटी फर्म, साझेदारी फर्म,कम्पनी,गैरसरकारी संस्था, ट्रष्‍ट, निजी विद्यालय,विश्‍व विद्यालय लगायतका निकायहरु तथा घर वा फ्ल्याट निर्माण गरी बिक्रीको कारोवार गर्ने व्यवसायीले आफ्नो स्वामित्वको जतिसुकै मूल्यको जग्गा वा भवन निसर्ग गर्दा मालपोत कार्यालयले रजिष्‍ट्रेशनका बखत यसै बमोजिम अग्रिम कर असुल गर्नुपर्दछ ।

(ग) क्षेत्रफल

आयकर ऐन, २०५८ को दफा २ को खण्ड (द) मा गैर व्यावसायिक करयोग्य सम्पत्तिको परिभाषा गरेको र उक्त परिभाषाको उपखण्ड (२) को स्पष्टिकरणमा निम्‍नानुसार व्यवस्था रहेको छ : “यस खण्डको प्रयोजनका लागि “निजी भवन” भन्‍नाले भवन र भवनले ओगटेको क्षेत्रफल बराबरको जग्गा वा एक रोपनी जग्गा मध्ये जुन घटी हुन्छ त्यसलाई सम्झनु पर्छ । 

ऐनमा भएको यस व्यवस्थाले प्राकृतिक व्यक्तिको निजी भवन जुन गैर व्यावसायिक करयोग्य सम्पत्तिको परिभाषा अन्तर्गत पर्दैन त्यस्तो भवनले चर्चेको क्षेत्रफल बराबरको जग्गा वा एक रोपनी जग्गामध्ये जुन घटी हुन्छ सो बराबर जग्गा समेत गैर व्यावसायिक सम्पत्तिको परिभाषा अन्तर्गत पर्दैन । यसरी आयकर ऐनले गैर व्यावसायिक सम्पत्तिको परिभाषामा नपर्ने निजी भवनले आगटेको जग्गालाई समेत करको दायराभन्दा बाहिर राखेकोछ । ऐनको यस व्यवस्थालाई निम्‍न उदाहरणबाट स्पष्‍ट हुन सकिन्छ ।

उदाहरण: ५

श्रीराम शर्माको ललितपुरको कुपण्डोलमा निजको आफ्रनो स्वामित्वमा रहेको भवन निजले बसन्त शर्मालाई रु दुई करोडमा बिक्री गरेका रहेछन्। श्रीराम शर्माको उक्त भवनको स्वामित्व १५ वर्षदेखि रहेको र सोही समयदेखि अविच्छिन्‍न रुपमा बसोवास समेत गर्दै आएको हुँदा उक्त भवन गैर व्यावसायिक करयोग्य सम्पत्तिको परिभाषा अन्तर्गत पर्दैन । 

श्रीराम शर्माको उक्त भवनको कम्पाउण्ड ८ आना रहेको र भवन ४ आनामा निर्माण भएको रहेछ । आयकर ऐन, २०५८ को दफा २ को खण्ड (द) को उपखण्ड (२) को स्पष्‍टिकरणमा भवन र भवनले ओगटेको क्षेत्रफल बराबरको जग्गालाई समेत निजी भवनमा नै समावेश गरेकोले श्रीराम शर्माले बिक्री गरेको भवनले ओगटेको ४ आना जग्गा र सो बराबरको क्षेत्रफल ४ आना समेत गैर व्यावसायिक करयोग्य सम्पत्ति नहुने हुँदा उक्त ४ आना समेत करको दायरामा पर्दैन ।

उदाहरण: ६

रमेश शर्माले लाजिम्पाटमा रहेको भवन तथा १२ आना जग्गा रु ३ करोडमा बिक्री गरेका रहेछन्। उक्त, भवन उनले २०६० सालमा निर्माण गरी आफैले बसोबास गर्दै आएका रहेछन्। बिक्री गरिएको भवन ४ आनामा निर्माण भएको रहेछ । रमेश शर्माले बिक्री गरेको भवनको मोल रु. १ करोड तथा जग्गाको बिक्री मोल रु. २ करोड कायम भएको रहेछ । यस अवस्थामा भवनले आगटेको ४ आना तथा सो बराबरको क्षेत्रफल ४ आना गैर व्यावसायिक करयोग्य सम्पत्ति हुदैन । बाँकी रहेको ४ आना जग्गाको बिक्री मूल्य (२ करोड÷१२×४).६६,६६,६६६ गैर व्यावसायिक करयोग्य सम्पत्ति हुने हुँदा सो रकममा पुँजीगत लाभकर आकर्षित हुन्छ ।

उदाहरण: ७ 

तिलक बस्‍नेतको बालाजुस्थित ३ रोपनीको कम्पाउण्डमा निर्माण भएको भवन तथा जग्गा (३ रोपनी जग्गाको रु. ५ करोड र भवनको रु. ५ करोड मूल्य कायम गरी) कुल १० करोड रुपैयाँमा उचित श्रेष्‍ठलाई बिक्री गरेका रहेछन्। निजको भवनले २ रोपनी जग्गा ओगटेको र सो भवन ११ वर्षदेखि निजकै स्वामित्व रहेको र सोही समयदेखि सोही भवनमा बसोबास गर्दै आएका रहेछन्। निजी भवन भन्‍नाले भवन र भवनले ओगटेको क्षेत्रफल बराबरको जग्गा वा एक रोपनी जग्गामध्ये जुन घटी हुन्छ त्यसलाई वुझाउने छ भन्‍ने व्यवस्था आयकर ऐनको दफा २ को खण्ड (द) को उपखण्ड (२) को स्पष्‍टिकरणमा रहेको छ । ऐनको यस व्यवस्थाले गर्दा तिलक बस्‍नेतले बिक्री गरेको भवन तथा सोले ओगटेको जग्गा मध्येको १ रोपनी जग्गा गैर व्यायसायिक करयोग्य सम्पत्ति हुदैन । तर बाँकी २ रोपनी जग्गाको बिक्री रकम रु.दश लाखभन्दा बढी भएकोले २ रोपनी जग्गा गैर व्यावसायिक करयोग्य सम्पत्ति हुन्छ ।

उदाहरण: ८

दिपक थापाको स्वामित्वमा काठमाडौंको गौशालामा ८ आना जग्गासहित एक तलाको भवन रहेछ । निजले सो जग्गा तथा भवन २०६० साल श्रावणमा खरिद गरी सोही घरमा बसोबास गर्दै आएको रहेछन । निजले २०६५ साल चैत्रमा एक तला थप गरेका रहेछन्। दिपक थापाले आफ्नो स्वामित्वमा रहेको उल्लिखित जग्गा तथा भवन रु. ८४ लाखमा २०७१ साल वैशाखमा बिक्री गरेका रहेछन्। निजको ८ आना जग्गामध्ये ३ आना भवनले आगटेको रहेछ । दिपक थापाले जग्गा तथा भवन बिक्री गर्दा जग्गाको प्रति आना रु. ८ लाख का दरले रु. ६४ लाखमा र भवन रु. ४० लाख बजार मूल्य कायम भएको रहेछ । दिपक थापाले सो जग्गा तथा भवन (एक तला) २०६० साल श्रावणमा खरिद गरी सोही भवनमा बसोबास गरी आएकोले भवन तथा सो भवनले ओगटेको ३ आना तथा सो बराबरको क्षेत्रफल गरी ६ आना जग्गा गैर व्यावसायिक करयोग्य सम्पत्ति हुँदैन । तर २०६५ साल चैत्रमा थप गरेको तलाको बिक्री भएको भवन रु.४० लाखको समानुपातिक रुपले हुने रकम रु.२० लाख तथा २ आना जग्गाको रु. १६ लाख गरी हुन आउने रकम रु. ३६ लाख भएकोले थप गरेको तला तथा ऐनको दफा २ को खण्ड द को उपखण्ड (२) को स्पष्टिकरण अनुसार निजी भवन अन्तर्गत नपरेको २ आना जग्गा गैर व्यावसायिक करयोग्य सम्पत्ति हुन्छ ।

३– पुस्तासम्बन्धी उदाहरणः 

निःसर्ग गरिएको भवन निःसर्ग गर्ने व्यक्ति र निःसर्गबाट प्राप्त गर्ने व्यक्ति बीचमा तीन पुस्ते सम्बन्ध रहेको र निःसर्ग केवल निःशुल्क हस्तान्तरण (पारिवारिक हस्तान्तरण) भएमा सो सम्पत्ति गैर व्यावसायिक करयोग्य सम्पत्ति हुदैन । यहाँ हस्तान्तरण भन्‍नाले सामान्यतयाः अंशबण्डा, अपुताली, बकसपत्र, मृत्युपछिको हस्तान्तरण आदि पर्दछ । तीनपुस्ता बाहेक अन्यबाट बकसपत्र जस्ता प्रकृयाबाट हस्तान्तरण गरिएको सम्पत्तिको हकमा भने त्यस्ता सम्पत्तिलाई गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिन्छ ।

यसलाई देहायको उदाहरणबाट स्पष्‍ट गर्न सकिन्छ:

उदाहरण: ८क

प्रेमप्रसाद आचार्यले काठमाडौंमा २०६६ साल कार्तिक २३ गते दुई करोड रुपैयाँ पर्ने एक भवन खरिद गरेका रहेछन्। निजले सो भवन २०७६ साल पुष २६ गते कैलाश श्रेष्‍ठलाई तीन करोड रुपैयाँमा बिक्री गरेका रहेछन्। निज २०६६ साल कार्तिक २३ गतेदेखि २०७६ साल पुष २६ गतेसम्म पटक पटक गरी कुल १२० दिन विदेश गएका रहेछन्। यस सम्पत्तिका सन्दर्भमा निज प्रेम सो भवनको दश वर्षभन्दा बढीको स्वामी (Owner) भए तापनि सो भवनमा निज प्रेम अबिच्छिन्‍न वा पटक पटक गरी दश वर्षभन्दा कम बसोबास गरेको कारण उपर्युक्त भवन गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिन्छ ।

तर निज प्रेमले उक्त भवन दुई महिनापछि बिक्री गरेको भए निजले पटक पटक गरी दश वर्षभन्दा बढी बसोबास गरेको अवस्था पनि पुरा हुने हुँदा सो भवन गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिदैनथ्यो। तर १० वर्षभन्दा कम अवधि वसोवास गरेको भवन तीनपुस्ता वाहिरको व्यक्तिलाई बिक्री गरेको हुँदा गैर व्यावसायिक करयोग्य सम्पत्ति अर्थात् कर लाग्‍ने सम्पत्ति भयो । यदि उक्त भवन प्रेमप्रसादले आफ्नो श्रीमती वा छोरालाई निःशुल्क हस्तान्तरण गरेको भए श्रीमती वा छोरालाई गरेको हस्तान्तरण पारिवारिक हस्तान्तरण भित्रपर्ने भएकोले गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिदैनथ्यो, कर तिर्नु पर्दैन्थ्यो । 

उदाहरण: ८ख

प्रवेश बस्‍नेत भन्‍ने व्यक्तिले एक वर्षअघि खरिद गरेको आफ्नो नाममा रहेको पाँच करोड रुपैयाँ पर्ने जग्गा आफ्नो छोराको छोरा (नाती) लाई बकसपत्रद्बारा हस्तान्तरण गरिदिएका रहेछन्। हस्तान्तरणको समयमा उक्त सम्पत्तिको बजार मूल्य छ करोड रुपैयाँ रहेछ । बजार मूल्य जतिसुकै भएपनि तीनपुस्ता भित्र बकसको माध्यमबाट निशुल्क हस्तान्तरण गरिएको हुनाले उक्त सम्पत्ति गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिदैन, अर्थात् नामसारी गर्दा कर तिर्नु पर्दैन । 
 

अहिले बजारमा कुन निर्माण सामाग्रीको मूल्य कति छ ?

धुलिखेलमा आमासँगै जिपलाइन गर्न जाँदा ५० प्रतिशत छुट, अफर शुक्रबारसम्म

डिल्लीबजारबाट वर्षमा २३ सय घरजग्गा किनबेच, किन घट्यो कोर सिटीमा कारोबार ?

दक्षिणपूर्वी एशियाका देशले रियल इस्टेटमा फड्को मारिसके, हामीले कहिले ?

काठमाडौंमा रियल इस्टेट सम्मेलन सुरु, लाइसेन्स लिएर मात्र घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गर्न जोड

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

काठमाडौंमा दुई दिन रियल इस्टेट कन्फ्रेन्स हुँदै, विदेशी वक्ता पनि सहभागी हुने

नागार्जुनमा २० करोडको बंग्लो बिक्रीमा, तीन दिन ओपन हाउस कार्यक्रम

4CD2787D682958F-parking news.jpg

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, व्यवसायिक भवनले पार्किङ शुल्क लिन नपाउने

7C876F0376554BE-Kathmandu Valley-1597749993.jpg

मन्दीकै बिच वर्षमा पौने पाँच लाख घरजग्गा खरिद बिक्री, ४१ अर्ब राजश्‍व संकलन

0A879F479FCB489-D49DAAFB1194BEA-F03308F1229F2CB-A9ED9AF1C4F05FE-kmc-mahanagarpalika-kathmandu.jpg

कुन व्यवसायले कति कर तिर्नुपर्छ ? यस्तो छ काठमाडौं महानगरको कर नीति