कम भन्दा कम सीमित वस्तुको प्रयोग आफ्नो जीवनशैलीमा उतार्नु कठिन कार्य हो । सीमित वस्तुको प्रयोग विधि अपनाए अवश्य नै घर फराकिलो देखिनुका साथै सफा गर्न पनि सहज हुन्छ ।

घरको अस्तव्यस्त अवस्थालाई व्यवस्थित गरी सामान्यावस्थामा ल्याउनु सहज काम पक्कै होईन । कम भन्दा कम सीमित वस्तुको प्रयोग आफ्नो जीवनशैलीमा उतार्नु कठिन कार्य हो । सीमित वस्तुको प्रयोग विधि अपनाए अवश्य नै घर फराकिलो देखिनुका साथै सफा गर्न पनि सहज हुन्छ ।
धेरै मानिसहरुले ध्यान नदिएको हुन सक्छ कि घरमा प्रयोगमा नआउने र आफुलाई मन नपरेको चिजवस्तु हटाउँदा पनि जीवनयापन कति सहज हुन्छ र घर व्यवस्थित हुन्छ भनेर । हामीलाई आफ्नो घरमा प्रयोगमा नआउने तर, ठाउँ ओगटेर रहने सामानहरु फाल्न माया लाग्छ तर ती वस्तु प्रयोगमै आउँदैनन् भने तिनलाई थुपारेर राख्नुको पनि के अर्थ ?
ती सामानले घरलाई साँघुरो र अस्तव्यस्त बनाइरहेका हुन्छन् । घरको हरेक कुना, हरेक ठाउँमा फर्निचर र सामानहरु रहनाले फोहोर र अव्यवस्थित हुन्छ । घरका अनावश्यक सामान हटाएर व्यवस्थित गर्नलाई सोचेजस्तो कठिन भने छैन । एउटा तालिका बनाएर कामको चेकलिस्ट बनाई हप्तामा एकचोटि वा महिनामा दुईचोटि काम गरेमा तपाईको घरको अनावश्यक सामान हटेर घर सफा र व्यवस्थित बन्न सक्छ ।
सामानहरु हटाउने र व्यवस्थापन गर्नु अगाडि तपाईले केहि पूर्वतयारी गर्नुपर्छ । तपाईसँग गार्बेज ब्याग, सामान भण्डारण गर्ने बाकस, मार्कर, सफा गर्ने कपडा आदि हुनुपर्छ । घरको नचाहिने सामानहरु फाल्नु अगाडि केहि कुराहरुमा विचार पुर्याउनुपर्छ । सामान फाल्नुअघि आफैले आफैलाई केहि प्रश्नहरु गर्नु जरुरी हुन्छ ।
जस्तो कि:
तपाईलाई आवश्यक जस्तो लाग्ने तर, वास्तवमा नचाहिने सामानहरु यस्ता हुन सक्छन–
माथिका कुराहरुमा विचार गरिसकेपछि अब त्यस्ता अनावश्यक र प्रयोगमा नआउने सामानहरुको व्यवस्थापन गर्ने पक्रियालाई चरणबद्ध रुपमा चर्चा गरौं ।
१. तालिका र सूची बनाएर काम गर्नुहोस्

महिनाको सुरुवातमै पात्रो क्यालेण्डरमा आफुले कुन दिन काम गर्ने मार्क गर्नुपर्छ । शनिबार बिदाको दिनमा गर्दा सहज हुन्छ । यसरी दिन मार्क गरिसकेपछि तपाईले पूर्ण लगावका साथ सो दिन अन्य काम र साथीभाईसँगको भेटघाटलाई थाती राखेर आफ्नो काममा केन्द्रित हुनुपर्छ ।
अनावश्यक सामानहरु फालेर अन्य केहि सामान जुन आफ्नो लागि प्रयोगमा नआउने तर, आवश्यक परेका अरु व्यक्तिलाई दिन मिल्ने खालको सामान छुट्याएर अलग बाकसमा राख्नुपर्छ । यस्ता सामान घरमा थुप्रिएर रहिरहने हुँदा सक्दो चाँडो आवश्यक परेकालाई दिनुपर्छ । चाँडै नदिएमा तपाईको विचार बदलिन सक्छ र अरुलाई सित्तैमा बाड्न लोभ लागेर त्यहि अनावश्यक सामान फेरी तपाईको घर भित्रै थुप्रिएर बस्ने गर्छ । यसैगरी तपाईले प्रत्येक कोठाको सूची बनाएर कुन कोठाबाट शुरुवात गर्ने भनेर पहिल्यै योजना बनाई काम गरेमा सजिलो हुन्छ । कोठाको आकार र त्यसमा रहेको सामानको परिमाणको आधारमा सबै कोठाको सामान व्यवस्थापन गर्न लाग्ने समयमा फरक पर्न सक्छ ।
कुनै कोठामा काम शुरु गरेपछि त्यस कोठाको काम नसकेसम्म अन्य कोठाको काम शुरु गर्नु हुन्न । यसो गरेमा काम नै अस्तव्यस्त भई समय र श्रम खेर जान्छ । पक्कै पनि यो काम पट्यारलाग्दो हुन सक्छ र तपाईको ध्यान कामको बिचमा अन्यत्र मोडिन सक्छ । आफूलाई मनपर्ने गीत बजाएर काम गरेमा तपाईले एकसुरले काम गर्न सक्नुहुन्छ । कामको दौरानमा बेलाबखत केहि समय आराम लिनु भने अवश्य पर्छ ।
२. परिवारका सदस्यबाट हुनसक्ने अवरोध समाधान गर्नुहोस्
तपाईको घरमा तपाईका बा–आमा, बच्चाबच्चीहरु हुन सक्छन् । फरक–फरक उमेर समूहका मानिसको फरक सोचाई, आचरण हुन्छ । जस्तो कि, बच्चाहरुलाई उनीहरुको खेलौना आदिसँग बेग्लै लगाव हुन्छ, चाहे ती जतिसुकै पुराना किन नहुन् ।
त्यसैगरी वृद्ध बा–आमाहरुको सन्दर्भमा पुराना सामानहरु प्रति उनीहरुको भावनात्मक मोह हुन्छ । धेरै सम्झनाहरु जोडिएको हुने गर्छ । त्यसकारण उनीहरुले त्यस्ता सामानहरु फाल्ने चाह गर्दैनन् । यसले गर्दा तपाईले पुराना अनावश्यक सामानहरुको व्यवस्थापनको काम गर्ने बेलामा विभिन्न किसिमका अवरोधको सामना गर्नुपर्ने हुन सक्छ ।
यसको समाधानको लागि तपाईले काम गर्ने बेलामा सो कोठामा अरुको प्रवेशलाई रोक्नुपर्छ । उमेर पुगेका बुझ्ने व्यक्तिलाई घरको सरसफाई र सामानहरुको व्यवस्थापनको महत्वको बारेमा बुझाई काममा उनीहरुको सहयोग लिन सकिन्छ ।
३. अनावश्यक सामान नहटाएसम्म सफा नगर्नुहोस्

प्रयोगमा नआउने अनावश्यक सामानहरु हटाउने क्रममा सामानहरुको सरसफाई गर्नु उचित कार्य होइन । तपाईलाई आवश्यक नपर्ने प्रयोग योग्य सामान दान गर्नु वा सस्तो मूल्यमा बेच्नु अघि सफा गर्नु राम्रो काम हो । तर, सामानहरु सबै व्यवस्थापन नगरी घर भित्रै सफा गर्दा घर फोहोर हुने र काममा ढिलाइ हुने अवस्था हुन्छ । ती हटाइएका सामानहरुको सरसफाईका लागि अर्को कुनै दिन छुट्याउन सकिन्छ । पहिले सबै अनावश्यक सामान हटाएर कोठालाई व्यवस्थित बनाउने कुरामा ध्यान दिनु राम्रो हुन्छ ।
४. हटाउने सामानको वर्गीकरण गर्नुहोस्

तपाईले आफ्नो दराज, र्याक आदिबाट अनावश्यक सामान हटाउने क्रममा तीन भागमा वर्गीकरण गर्नुपर्छ । दान दिने वा बेच्ने सामान, फाल्ने सामान र के गर्ने भन्ने निश्चित नभएको सामान गरी तीन भागमा वर्गीकरण गर्नुपर्छ । यसरी छुट्याइसकेपछि बाकी रहेको सामान पुनः दराजमा राख्नुपर्छ ।
दान गर्ने र फाल्ने सामानलाई अलग–अलग बक्समा वा झोलामा राखि चिन्ह लगाउनुपर्छ । महँगा सामान जुन प्रयोग योग्य हुन्छ, त्यसलाई तपाईले सेकेण्ड ह्याण्ड मार्केटमा अनलाईन माध्यमबाट पनि बेच्न सक्नुहुन्छ । यसरी सामानको वर्गीकरण गरेर काम गर्दा त्रुटि हुन पाउँदैन ।
५. पारिवारिक चिनोको उचित व्यवस्थापन गर्नुहोस्
तपाईको हजुरबुवा हजुरआमा वा ति भन्दा अघिल्ला पुस्ताहरुले धेरै सामानहरु छोडेर गएका हुन्छन् । भावनात्मक रुपमा त्यसको मूल्य उच्च हुन सक्छ तर, ती सामानले तपाईको घरको सौन्दर्यको मूल्याङ्कन भने बढाउँदैन । सामान्यतयाः हामी हाम्रा पिता पुर्खाले छोडेर गएका सामानहरु प्रयोग गर्दैनौ तर, ती सामानलाई घरमा विशेष स्थान दिएर राख्छौ । यस्ता चिनोरुपी सामानहरु फाल्नु यथोचित नहोला तर त्यसलाई सजाएर राख्नु पनि ठिक होइन । कुनै बाक्सामा सुरक्षित तरीकाले राखेर स्टोर रुममा वा अन्यत्र कतै नदेखिने गरी राख्न सकिन्छ ।
६. फर्निचरहरु पुनः व्यवस्थित गर्नुहोस्

तपाईको घरबाट अनावश्यक सामानहरु हट्ना साथ घरको स्वरुप नै बदलिन्छ । तपाईको घरको कोठा सानो वा ठूलो जुनसुकै आकारको भएपनि अनावश्यक सामानहरु हटेपछि फराकिलो र ठूलो देखिन्छ । सामानहरुको व्यवस्थापन सकिएपछि कोठाका फर्निचरहरु रहेको अवस्थालाई केहि परिमार्जन गर्नुहोस् । पहिले राखेको ठाउँमा यसले कोठामा नयाँपन देखिनुका साथै कोठा थप फराकिलो र आकर्षक देखिन्छ ।
तपाईले यसरी अनावश्यक सामानहरुको व्यवस्थापन गरेर घरलाई फराकिलो र चिटिक्क पार्नुभएपछि फेरी पनि प्रयोगमा नआउने तर आफ्नो रुचीको सामान किनेर थुपार्ने गर्नु चाहि गलत हुन जान्छ । तपाईले आफ्नो घरलाई फराकिलो, सफा र व्यवस्थित बनाइराख्नको लागि माथि बताइएको प्रक्रियालाई वर्षको कम्तीमा दुईपटकसम्म पालना गर्नुपर्ने हुन्छ ।