‘काठमाडौंमा कृषिभूमि खोजेर हुँदैन, ४ आनामात्रै कित्ताकाट हुने व्यवस्था खारेज हुनुपर्छ’

सरकारमा बस्नेहरुले रियलस्टेट व्यवसायीले रातारात पैसा कमाए, गाडी चढेर हिँडे, हाम्रो हातमा लगाम छ, यिनीहरुलाई कमाउन र सुविधा भोग गर्न दिनु हुँदैन, बाँध्नुपर्छ, निचोर्नुपर्छ भन्ने सोँच राखेर देश चल्दैन ।

367B408218B985F-icon.png
1474views
DA34B9EBFE63A63-Ichha Bahadur.jpg

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छा बहादुर वाग्ले साढे तीन दशकदेखि रियलस्टेट व्यवसायमा लागेका छन् । उनको बाराको सिमरामा तारे होटल इच्छा सञ्‍चालनमा छ । आगामी वर्षको मौद्रिक नीति, बजेटमा समेटिएका विषय, भवन निर्माण मापदण्ड र अपार्टमेन्ट–हाउजिङ व्यवसायको अवस्थालगायत समग्र रियलस्टेट क्षेत्रका बारेमा नेपालहोम्सले वाग्लेसँग गरेको कुराकानीको सम्पादित अंशः
   
नेपाल राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीति ल्याउने अन्तिम चरणमा छ । गभर्नर महाप्रसाद अधिकारी व्यापक छलफल र गृहकार्यमा व्यस्त छन् । मौद्रिक नीतिले घरजग्गा क्षेत्रलाई कसरी सम्बोधन गर्नुपर्छ ? तपाईंहरुका सुझाव के–के छन् ? 

हामी सुझाव दिँदा दिँदा थाकिसकेका छौं । हाम्रा माग कहिल्यै सम्बोधन भएनन् । तैपनि अझै आफ्ना मागहरुबारे सुझाव दिन छाडेका छैनौं । सरकारले सबैभन्दा पहिला रियलस्टेटलाई पनि उद्योगसरह मान्यता दिनुपर्छ । राष्ट्र बैंकले पनि दर्तावाल फर्मल रियलस्टेट क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ ।

अहिले अनुमतिप्राप्त रियलस्टेट कम्पनीलाई प्रवाह हुँदै आएको कर्जामा कर्जा र धितोको अनुपात ४० प्रतिशत मात्र रहेको छ । आगामी मौद्रिक नीतिमार्फत कर्जा–धितो अनुपात जग्गा विकास आयोजनाको हकमा ६५ प्रतिशत र आवास विकास आयोजनाको हकमा ७५ प्रतिशत कायम गरिनुपर्छ । 

रियलस्टेटमा प्रवाह हुने बैंक ऋणमा कडाई गर्नु भएन । अझ रियलस्टेट कर्जाको जोखिम भार १०० प्रतिशतबाट बढाएर १५० प्रतिशत पुर्याइएकाे छ । त्यो हटाउनुपर्छ । आगामी मौद्रिक नीतिमार्फत रियलस्टेट व्यवसाय गर्ने कम्पनीको हकमा ३ वर्ष अवधिका लागि ऋणात्मक व्यालेन्स सिटको  सुविधा दिइनुपर्ने माग छ ।

विदेशी नागरिकलाई अपार्टमेन्ट बिक्री गर्न दिइने बजेटको व्यवस्था कार्यान्वयनका लागि सहज नीतिगत व्यवस्था गरिनुपर्छ ।

भूमि व्यवस्था मन्त्रालयले ढिलै भएपनि भूउपयोग नियमावली २०७९ जारी गरेको छ । तपाईंको बुझाईमा भूउपयोग नियमावली कस्तो आयो ? यसले जग्गाको उपयोगितालाई व्यवस्थित बनाउन सक्ला ?

भूउपयोग ऐन २०७६ कार्यान्वयनका लागि नियमावली आउनै पर्‍थ्याे । ढिलै भए पनि आयो, जुन स्वागतयोग्य छ । तर, नियमावली कार्यान्वयन गर्न सक्ने खालको आउनुपर्थ्याे । नियमावलीमा जग्गालाई ‘अन्य’ शिर्षकसहित १० प्रकारमा वर्गिकरण गर्ने भनिएको छ । त्यहाँ अन्य क्षेत्र भनेर छिद्र छाडिएको छ । अन्य क्षेत्रमा पर्यटन अट्ने हो कि अरु कुनै प्रयोजन ? त्यो किटान हुनुपर्थ्यो । देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बा पर्यटनलाई अन्य शिर्षकमा अटाइएको छैन । त्यो चाँडै सुधार गर्न मेरो सुझाव छ । 

नयाँ नियमावली अनुसार जग्गाको कित्ताकाट गर्न भू–वर्गिकरण हुनुपर्छ । मन्त्रालयले भूमि मन्त्रालयले स्थानीय भूउपयोग परिषदलाई जग्गाको वर्गिकरण गरेर सिफारिस दिन र मालपोत तथा नापी कार्यालयलाई स्थानीय तहले कृषि र गैरकृषि भूमि छुट्याएर सिफारिस दिएपछि मात्र कित्ताकाट गर्न परिपत्र गरेको छ । जसले गर्दा अहिले कित्ताकाट ठप्प भएको छ र मालपोतमा ६०/६५ प्रतिशतसम्म सेवाप्रवाह घटेको बताइन्छ । अहिलेसम्म स्थानीय तहले कृषि र गैरकृषि भूमि भनेर छुट्याउन सकेका छैनन् । यो कहिलेसम्म लम्बिने हो अत्तपत्तो छैन ।

०७४ सालमा कृषि भूमि अन्धाधुन्ध खण्डिकरण भयो भनेर कित्ताकाट रोकियो । त्यसपछि कित्ताकाटका नाममा ठूलो भष्ट्राचार भइरहेको छ । सायद, नेपालको भूमि यही समयमा जति धेरै कहिल्यै पनि टुक्रिएनन् होला । अख्तियार र महालेखाले पनि कित्ताकाट रोक्दा मालपोत, नापी लगायत निकायमा चरम भष्ट्राचार मौलाएको ठहर गरिसकेको छ ।

तत्कालिन भूमिमन्त्री पद्या अर्यालले यही कुरा बुझेर कित्ताकाट खुला गरेकी थिइन । तर, व्यापक विरोध भयो । सर्वोच्चले पनि कित्ताकाट खुला गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गर्यो । मेरो बुझाईमा कित्ताकाट रोक्दैमा कृषिभूमि टुक्रिन रोकिने र खुला गर्दा अन्धाधुन्ध कित्ताकाट भइहाल्ने पनि होइन । अहिले पनि कानुनका छिद्र प्रयोग गरेर अंशबण्डा, अदालतको आदेश लगायतबाट व्यापक कित्ताकाट भइरहेको छ ।

अहिले पनि त्यस्तै जटिल परिस्थिती सिर्जना गर्ने गरी भूउपयोग नियमावली ल्याइएको छ । स्थानीय तहले जग्गाको वर्गिकरण नगर्दा अहिले नै जटिलता सिर्जना भएको छ । किन स्थानीय तहहरुले कृषि र गैरकृषि भनेर जग्गा बर्गिकरण गर्न सकेका छैनन् । मन्त्रालय भन्छ, स्थानीय तहले चाहेमा एक हप्ताभित्रै जग्गाको बर्गिकरण गर्न सक्छन् । तर, स्थानीय तह मौन देखिन्छन् । जग्गाको बर्गिकरण हुन ६ महिना लाग्ला, वर्ष दिन लाग्ला । त्यो बेलासम्म कित्तकाट नै रोक्ने त । कति कच्चा सरकार हो !

अहिले समाज राजनीतिका कारण बिखण्डित छ । भोली एउटा राजनीतिक दलको सरकारले फरक आस्था राख्‍ने व्यक्तिको जग्गामा घाँस उम्रिने वित्तिकै ‘यो खेतीयोग्य जमिन’ भनेर कृषि जमिनमा बर्गिकरण गरिदिन सक्छ । त्यसतै भयो भने झन् बिखण्डन बढ्ने सम्भवना छ । अहिले नेपालको  अधिकांश जमिन व्यवसायिक भइसकेको छ । भन्‍नुको मतलब, जुन जग्गालाई बैंकले यति मूल्य भनेर मूल्यांकन गरी धितो दृष्टिबन्धक राखेर ऋण प्रवाह गरेको छ, त्यो जग्गा व्यवसायिक भइहाल्यो । 

आज कुनै पनि जग्गा बैंकले १० लाख मूल्यांकन गरेर ऋण प्रवाह गरेको छ भने भोली स्थानीय तहले कृषिमा वर्गिकरण गरिदिए मूल्य १ लाखमा झर्ला । त्यसो गर्दा जनताले मान्लान र ? मलाई सजिलै मान्छन जस्तो लाग्दैन । फेरी जबरजस्ती गर्न पनि मिल्दैन होला । 

कुनै पहुँचवालाले आफ्नो जग्गा आवासिय भनेर बर्गिकरण गराउन सक्लान । पार्टीका नेता, कार्यकर्ता र पहुँचवालाले जग्गा आवश क्षेत्रमा राख्लान । अरु जनताको अवस्था के हुन्छ ? काठमाडौंमा आनाकै ३०-३५ लाख रुपैयाँ पर्ने जग्गा कृषि क्षेत्रमा बर्गिकरण गरियो भने कुनै स्थानीयले स्वीकार गर्लान त ? यसो भयो भने उसले विद्रोह गर्छ । बैंकले पनि कृषिमा राखेको जग्गा धितो लिलाम गरी ऋण असुल गर्न सक्दैनन् । बैंकिङ प्रणालीमा समस्या आउन सक्छ ।

अर्को कुरा, यसले स्थानीय तहमा झन घुसखोरी मैलाउनेछ । स्थानीय प्रतिनिधि र कर्मचारीले यति रकम दिनुहोस् तपाईंको जग्गा आवास क्षेत्रमा बर्गिकरण गरिदिन्छौं, नत्र कृषिमा पर्न सक्छ भनेर घुस लिने अवस्था आउँछ । मान्छेले कृषिमा नपरोस भनेर पैसा खुवाउन बाध्य हुनुपर्ने अवस्था आउन सक्छ । यसतर्फ सम्बन्धित पक्षले निकै ध्यान दिनुपर्छ ।

नयाँ नियमावलीमा जग्गाको कित्ताकाट गर्न न्यूनतम क्षेत्रफल नै तोकिएको छ । यसले स–साना टुक्रामा भइरहेको अन्धाधुन्ध कित्ताकाट रोकिएला ? यो व्यवस्थाले जग्गा किनबेचदेखि हाउजिङ परियोजना निर्माणमा कस्तो असर पार्ला ?

मेरो बुझाईमा, यो नीति पनि गलत हो । काठमाडौं उपत्यकामा आवासीय क्षेत्रमा वर्गीकरण गरिएको जग्गा ४ आना १ दाम र कृषि क्षेत्र तोकिएको जग्गालाई करीव एक रोपनीभन्दा कम क्षेत्रफल नहुने गरी कित्ताकाट गर्न रोकिएको छ । तराई र भित्री मधेशको हकमा एक रोपनी ५ आना ३.६ दामभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाइने व्यवस्था छ ।

आवासिय क्षेत्रको हकमा उपत्यकामा ४ आना १ पैसा र तराईमा ७ धुरभन्दा कमको कित्ताकाट गर्न नदिइनु गलत हो । वर्षौंसम्म २ आना २ पैसासम्मको टुक्रालाई  कित्ताकाट गर्न दिएर अहिले किन बढाएर ४ आना १ पैसा बनाउन पर्यो । अहिले काठमाडौंको मुख्य शहरी भेगमा आनाकै मूल्य १ करोडभन्दा बढी पुगिसक्यो । रिङरोडभन्दा बाहिरै पुग्दा पनि ३० लाखभन्दा कमको जग्गा भेट्याउन मुस्किल पर्छ । 

नयाँ नियमावलीको व्यवस्थाले मध्यमवर्गको घर सपना चकनाचुर पारिदिएको छ । अब आनाको ३० लाख रुपैयाँ पर्ने ४ आना १ पैसा जग्गा किन्‍न कम्तिमा १ करोड ३० लाख चाहियो । त्यती पैसा नहुनेले जग्गा नै नकिन्‍ने ? अनि सवा करोड जग्गामै खन्याएपछि घर कतिमा कुन पैसाले बनाउने ? अहिलेको व्यवस्था गलत छ, पुरानै लागू हुनुपर्छ । नत्र सर्वसाधारणको मर्छन्, जग्गा धनीको मात्र कब्जामा रहन्छ ।

तराईमा पाँच धुर जग्गा लिएर घर बनाउन किन नपाउने ? गरिवलाई नै किन मार्न खोजिँदै छ ।कुनै कित्ताको आकार वा क्षेत्रफल नमिल्दो भइ सीमानाको अर्को कित्ताबाट निश्चित क्षेत्रफल समावेश गरी प्लट मिलान गर्न उपयुक्त देखिएमा सो प्लट मिलानका लागि भने कित्ताकाट गर्न दिइने नियमावलीमा उल्लेख छ । यो ठिक छ । न्यूनतम ४ आना हुनैपर्ने व्यवस्था तुरुन्त सुधार गर्न सुझाव छ । 

न्यूनतम ४ अनाभन्दा कम क्षेत्रफलको कित्ताकाट नहुने भएपछि व्यवस्थित आवास परियोजना हाउजिङ पनि निरुत्साहित हुने भयो । यो व्यवस्थाले चार आनामा बनेका हाउजिङको घर किन्‍न ५ करोड हाल्नुपर्छ । अहिले नै जग्गाको मूल्य चुलीमा पुगेपछि रिङरोड बाहिर नै तीन आनामा बनेको हाउजिङको घरको मूल्य ३ करोडभन्दा बढी पर्न थालेको छ । आफै जग्गा किनेर घर बनाउँछु भन्दा पनि रिङरोडभित्र आनाको ६०–६५ लाखभन्दा कमको जग्गा भेटिदैन । 

यो व्यवस्था अति अव्यवहारिक भयो । कृषि जग्गाको कारण लफडा हुने हुँदा आउने ३ वर्षसम्म पनि वर्गिकरण सकिने देखिन्‍न । धेरैले कृषिमा जग्गा राख्‍न खोज्दैनन् । कृषिमा राख्‍ने वित्तिकै जग्गाको भाउ घट्छ । स्थानीय तह जग्गाको वर्गिकरण गर्न सक्छन भन्‍ने मलाई लाग्दैन ।

कृषिप्रधान देश अहिले खाद्यान्‍नमै आयातमा निर्भर हुन थालेको छ । शहरी क्षेत्रको जमिन प्लटिङ भइरहेको छ भने ग्रामिण क्षेत्रको भूमि बाँझो बनिरहेको छ । देशलाई कृषिमा आत्मनिर्भर बनाउन पनि कृषि भूमि त बचाउनुपर्यो नि हैन र ?

अहिले आएर काठमाडौंमा कृषि भूमि खोजेर हुँदैन । कि, दशकौं अघि नै यो व्यवस्था गरिनुपर्थ्याे र कृषि भूमि बच्थ्यो । अहिले आएर काठमाडौं उपत्यकामा कृषि भूमि खोज्‍नु मुर्खतामात्र हुनेछ ।

यदि कृषि क्षेत्र खोज्‍नु छ भने ७७ जिल्लामै गएर व्यापारिक र कमर्शियल रुपमा बैंकिङ कारोबार भइ नसकेका जग्गाहरुलाई स्थानीयसँगको समझदारीमा चार किल्ला छुट्याएर ‘यो कृषि क्षेत्र हो’ भनेर घोषणा गर्नुपर्छ । त्यो पनि अहिले नै । नत्र त्यहाँको जग्गा पनि कमर्शियल भइहाल्छ ।

यसो गर्दा त्यहाँका स्थानीलाई बहुत सुविधा दिनु जरुरी छ । कृषिमा सहुलियत देखि अनुदानसम्म दिनुपर्छ । ताकी मान्छेलाई जग्गा बिक्री गर्न भन्दा कृषि उत्पादन गर्दा फाइदा बढी होस् । त्यहाँ कृषि गर्नका लागि जग्गा खोसाखोस होस् । कृषिका लागि जग्गाको माग बढेपछि मूल्य पनि स्वत बढिहाल्छ । 

काठमाडौंमा कृषि क्षेत्र खोजेर हुन्छ त ? अब काठमाडौंमा एक रोपनी जग्गा खोज्‍न कहाँ जाने ? कसैले आनाकै करोडसम्म पर्ने जग्गा किनेर कृषि गर्न सक्ला ? यो अव्यवहारिक भयो ।

तत्काल भूमिको बर्गिकरण हुन नसक्दा कित्ताकाट ठप्प भएर घरजग्गा कारोबार नहुँदा राजश्‍व पनि घट्ने डर छ । घरजग्गा र हाउजिङ व्यवसाय टाट पल्टिनेछ । अझ लालपुर्जामै कृषि र आवासीय जग्गा भनेर छुट्याउने भनिएको छ । औद्योगिक क्षेत्रमा उद्योग, कृषि क्षेत्रमा कृषि, आवास क्षेत्रमा घर बनाउन पाउने त स्पष्ट भइहाल्यो । अब व्यापारिक क्षेत्रमा के–के गर्न पाउने ? त्यहाँ हाउजिङ र अपार्टमेन्ट परियोजना बनाउन पाउने कि नपाउने ? कमर्शियल रुपमा बनाइएका हाउजिङ र अपार्टमेन्ट पनि व्यवसाय नै हो ।

सरकारले बजेटमार्फत एक सयभन्दा बढी  युनिट रहने अपार्टमेन्टको बढीमा २० प्रतिशत युनिट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न अनुमति दिने गरी कानूनी व्यवस्था गर्ने घोषणा गरेको छ । यसले भूकम्पपछि सेलाएको अपार्टमेन्टमा नयाँ लहर ल्याउला ?

हामीले धेरै पहिलादेखि नै विदेशीलाई अपार्टमेन्ट बिक्री गर्न दिनुपर्यो भनेर माग गर्दै आइरहेका थियौं । यो पटक बजेटमै सम्बोधन भएको छ, जुन सकारात्मक छ । अब नीति मात्र होइन कि व्यवहारमा पनि कार्यान्वयन हुनुपर्छ । यदि विदेशीलाई अपार्टमेन्ट बिक्री गर्न पाइयो भने फेरी अपार्टमेन्टको लहर पक्कै आउँछ । किनभने, कम्तिमा २० प्रतिशत अपार्टमेन्टको बजार सुनिश्चित भइहाल्यो । नेपालमा अपार्टमेन्ट खरिद गरेर बस्‍न चाहने भारतीयसहित तेस्रो मुलुकका धेरैको चाहाना देखिन्छ ।

बरु २० प्रतिशत कम भयो, कम्तिमा ३० देखि ५० प्रतिशत हुनुपर्थ्याे । अहिले कार्यान्वयन गरेर अर्को बजेटमा बढाउन पनि सकिन्छ । विदेशीले पैसा ल्याउँदा डलर आम्दानी पनि हुनेछ । 

अहिले देशमा सयभन्दा बढी युनिट भएका अपार्टमेन्ट कम छन् । विदेशीलाई बिक्री गर्न न्यूनतम सय युनिट हुनैपर्ने व्यवस्था नराखेको भए हुन्थ्यो । कम्तिमा ५० युनिटसम्मका अपार्टमेन्ट विदेशीलाई बिक्री गर्न पाइने भनेर व्यवस्था गर्नुपथर्थ्याे । काठमाडौंमा जग्गा कम हुँदा ५ रोपनीमा बन्‍ने भनेको ५०–६० युनिट हो । एक सय युनिटको अपार्टमेन्ट मुख्य शहरमा कम बन्छन् । धेरै जग्गा चाहिने हुँदा रिङरोड बाहिर नै पुग्‍नुपर्छ । यो तत्काल सच्चाउनुपर्ने देख्छु ।

०७२ को विनाशकारी भूकम्पले जुर्मुराउँदै गरेको अपार्टमेन्ट कल्चर हरायो । अब नयाँ व्यवस्थाले अपार्टमेन्टमा आकर्षण बढ्न सक्छन् । रिङरोड बाहिर अब अपार्टमेन्ट परियोजना आउन थाल्नेछन् । जति धेरै परियोजना आए, अपार्टमेन्टको मूल्य पनि कम हुँदै जानेछ । 

रिङरोडबाट ३–४ किमी बाहिर गएर अपार्टमेन्ट कोलोनी नै बनाउन सकिन्छ । ५–६ तलाका ८–१० वटा भवनको ठूलो अपार्टमेन्ट कोलोनी बनाउन सकिन्छ । अहिले हाउजिङ परियोजनाको कोलोनीजस्तै । अहिले अपार्टमेन्टको २० प्रतिशत मार्केट सुनिश्चित भएको छ । त्यसले जग्गा कम हुँदा पनि धेरै आवास बन्छन् । सहर पनि सुन्दर हुन्छ । व्यवस्थित पनि हुन्छ ।

सरकारले हालै जारी गरेको ‘बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण (दोस्रो संशोधन) मापदण्ड–२०७८ मा ठूला आवास परियोजना बनाउँदा छाड्नुपर्ने फ्लोर एरिया रेसियो (फार) ४.५ सम्म र सेटव्याक पनि खुकुलो बनाएको छ । यसले पनि अपार्टमेन्ट निर्माणलाई पक्कै प्रोत्साहन गर्ला ?

भूकम्पपछि फार र सेटब्याकमा कडाई गरिएको थियो । जसले  गर्दा हाइराइज अपार्टमेन्ट परियोजना नै आउन सकेका थिएनन् । नयाँ व्यवस्थाले सकारात्मक उर्जा दिएको छ । अपार्टमेन्ट परियोजना निर्माणमा प्रोत्साहन मिलेको छ । अहिले शहरमा जमिनको उपलब्धता कम छ । 

अब शहरमा सानो जग्गामा घर बनाउनेले पनि ठूलो बनाउने भए । पहिला चार आनामा अढाई तलाको घर बनाउन पाइन्थ्यो । नयाँ नियमले अलि अग्लो घर बनाउन पाइने भयो ।

अर्को कुरा, थोरै जमिन भएको ठाउँमा पनि हाइराइज अवाास परियोजना निर्माण गर्न सकिने भयो । ठाउँ हेरिकन फार रेसियो साढे ४ प्रतिशतसम्म पुर्याउनु राम्रो हो । यो व्यवस्थाले हाइराइज आवास भवन निर्माण हुन्छन् । पहिलाको नीतिले १० तलाको अपार्टमेन्ट बनाउन मिल्ने ठाउँमा नयाँ नितीले १३ तलासम्म जान सकियो । यो व्यवस्थाले अपार्टमेन्टको मूल्य पनि पक्कै घट्ला ।  तीन तला त त्यसै आयो, अर्को जमिन किन्‍न परेन । 

भूकम्पपछि रियलस्टेट व्यवसायी हाइराइज अपार्टमेन्टभन्दा सिंगल युनिट घर बनाउनेतर्फ केन्द्रित थिए । नयाँ व्यवस्थाहरुले फेरी अपार्टमेन्टको लहर पक्कै ल्याउला । अब काठमाडौंका २-४ रोपनी जग्गा भएका ठाउँमा पनि अपार्टमेन्ट आउँछन् । नयाँ नीतिगत व्यवस्थाहरु कार्यान्वयन भएमा अपार्टमेन्टको मूल्य पनि २० प्रतिशतसम्म घट्न सक्छ ।
अहिले अपार्टमेन्टको डिमान्ड कस्तो छ ?

भूकम्पपछि मान्छे अगल भवनमा बस्‍न डराएका थिए । तर, पछिल्लो समय मान्छेले अपार्टमेन्ट खोज्‍न थालेका छन् । तर, बिक्री गर्नका लागि स्टक छैनन् । भर्खर मात्र अपार्टमेन्ट परियोजना घोषणा भएका छन् । यी परियोजना सम्पन्‍न हुन दुई देखि तीन वर्ष लाग्‍न सक्छ । पछिल्लो समय अपार्टमेन्टको डिमान्ड बढ्दो छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत एकभन्दा बढी घर वा अपार्टमेन्ट खरिद गर्ने माथी कडाई गर्दै प्रत्येक थप घरको रजिष्ट्रेशन पास गर्दा थप शतप्रतिशत रजिष्ट्रेसन दस्तुर लाग्‍ने व्यवस्था गरेको छ । यस्तै, पुँजीगत लाभकर पनि बढाइएको छ ? सरकारले घरजग्गा क्षेत्रलाई टाइट गर्नै खोजेको हो ? यसलाई कसरी लिनुभएको छ ?

यहाँ पनि ढंग पुगेको देखिदैन । विदेशमा पहिलो पटक घर किन्‍ने ग्राहकलाई छुट दिइएछ । एकभन्दा बढी घर खरिद गर्नेलाई मात्र टाइट गरिएको छ । हाम्रोमा पनि त्यही नक्कल गर्न खोजिएको हो, तर ढंग पुर्याइएन । नक्कल गर्न खोज्‍ने तर नक्कल गर्ने व्यवस्थाको आधारशिला के हो भनेर बुझ्न नखोज्‍ने प्रवृत्ति देखियो । 

विदेशमा पहिलो घर किन्‍नेलाई बैंकको ब्याजदरदेखि विभिन्‍न छुट सुविधा छ । नेपालमा पहिलो पटक घर खरिद गर्नेलाई के–के छुट दिइयो त । खै लेखाजोखा । ब्याजमा छुट पाए कि ? घर बनाउँदा निर्माण सामाग्रीमा छुट पाए कि ? करमा छुट पाएकी ? कि ८० प्रतिशतसम्म बैंकिङ लोन पाए कि ? 

यस्तै, पुँजीगत लाभकर पनि बढाइएको छ । यो अपराध हो । सरकारले घरजग्गा बिक्री गर्दा लाग्‍ने २.५ प्रतिशत पूँजीगत लाभकर बढाएर पाँच प्रतिशत र पाँच प्रतिशत रहेको लाभकरलाई ७ प्रतिशत पुर्याएको छ । सरकारले घरजग्गा किनबेचमा कडाई गर्न खोजेको देखिन्छ । अहिले बैंक ऋणमा गरिएको कडाई, बढ्दो व्याजदरले नै घरजग्गा किनबेच सुस्ताएको छ । त्यसमाथि सरकारले आधा दर्जन नियमहरुले बाँध्‍न खोज्दा घरजग्गा व्यवसाय समस्या पर्ने देखिन्छ ।

सरकारमा बस्‍नेहरुले रियलस्टेट व्यवसायीले रातारात पैसा कमाए, गाडी चढेर हिँडे, हाम्रो हातमा लगाम छ, यिनीहरुलाई कमाउन र सुविधा भोग गर्न दिनु हुँदैन, बाँध्नुपर्छ, निचोर्नुपर्छ भन्‍न‍ सोँच राखेर देश चल्दैन ।

सरकारले अनौपचारिक रुपमा भइरहेको घरजग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन आधिकारिक विशिष्टिकृत संस्थाबाट अनुमति प्राप्त व्यक्ति र कम्पनीले मात्र घरजग्गा किनबेच गर्न पाउने व्यवस्था गरेको छ । तपाईंहरुले पनि यही माग गर्नुभएको थियो क्यारे । यो व्यवस्थाले घरजग्गा व्यवसायलाई पारदर्शी र व्यवस्थित बनाउला ?

बजेटमै विशिष्टिकृत संस्थाबाट कानुनसम्मत रुपमा स्वीकृति लिएका व्यक्ति तथा कम्पनीबाट कारोबार गराउने भनिएको छ । यो राम्रो कुरा हो । यसले घरजग्गा कारोबारलाई पक्कै पनि पारदर्शी र व्यवस्थित बनाउने छ । यसको सही कार्यान्वयन भएमा मूल्य वृद्धि पनि नियन्त्रण हुन्छ । जग्गाको यथार्थ मूल्य थाहा भई राजश्‍व उठाउन पनि सहज हुन्छ । कारोबार  पनि पारदर्शी हुनुपर्छ । नीति लिएर मात्र भएन कार्यान्वयन पनि गर्नुपर्छ । 

विशिष्टिकृत संस्थाबाट ब्रोकरले लाइसेन्स लिन्छन र नियमसम्मत ढंगले घरजग्गाको कारोबार गराउँछन् । यसले उपभोक्ता पनि मूल्यमा ठगिन पाउँदैनन् । जग्गाको बेलगाम मूल्य बढाएर बिक्री गर्न मिल्दैन । 

तर, यो व्यवस्था कार्यान्वयन गर्दा राजश्‍वमा पनि छुट दिनुपर्छ । विशिष्टिकृत संस्थाबाट करोबार सुरु गराउँदा वैज्ञानिक राजश्‍व प्रणाली लागू गरिनुपर्छ । 

सरकारले बैज्ञानिक मूल्य निर्धारण गर्ने भनेको छ । कसरी सम्भव छ ?

म सम्भव देख्दिन । किन सक्दैन भने, जग्गाको वैज्ञानिक मूल्य बैंकहरुले गरिसकेका छन् । नेपालका अधिकांश ७० प्रतिशत जग्गा बैंकले मूल्यांकन गरेर ऋण प्रवाह गरेको छ । भोली बैंकले गरेको भन्दा कम मूल्यांकन गर्ने त होइन होला । नत्र बैंक डुब्छन् । मूल्य निर्धारण गर्ने उपभोक्ताले नै हो । अहिले मेकानिजम बिनाको प्रतिस्पर्धाका कारण जग्गाको मूल्य बढेको हो ।

यदि वैज्ञानिक मेकानिजम बनायो भने वैज्ञानिक मूल्य निर्धारण यसै भइहाल्छ । घरजग्गा व्यवसाय पान–मसला पसलेदेखि जो कोहीले पनि गर्न सक्ने व्यवसाय भइदियो । जसले विकृति सिर्जना भएको हो । पैसा हुने जो कोहिले पनि जहाँसुकै घरजग्गा कारोबार गराउन सक्छ ।सबैको नजर घरजग्गामै हुने भएकोले पनि किनबेच धेरै भएको हो । कारोबार बढेपछि मूल्य त स्वभाविक बढिहाल्छ नै । विशिष्टिकृत संस्थाबाट लाइसेन्स लिएर कारोबार गर्ने व्यवस्था लागू हुने वित्तिकै धेरै कुरा प्रणालीमा आउँछ ।

जिज्ञासा र जवाफ : सिमेन्ट के हो र कसरी प्रयोग हुन्छ ?

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

00F024FA1A91167-Khadga-b-gurung-final.jpg

पुनः नापी तथा हालसाविकका समस्या, चुनौती र समाधानका उपाय

1EC620D8C9F9519-saarc-final.jpg

यस्तो छ जग्गा प्रशासन ‘कित्ता नापी र जग्गा दर्ता’मा सार्क मुलुकको अभ्यास

8207B062FB9DF98-PanchKhal.jpg

यस्तो छ नेपालमा जग्गाको स्वामित्व र भोग चलनका किसिम (विचार)