नेपालका बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा घरजग्गा धितो राख्ने चलन छ । बैंकबाट प्रवाह भएको कुल कर्जामध्ये दुई तिहाईभन्दा बढी कर्जाको धितो घरजग्गा नै राखिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
- बैंकको ऋण प्रवाह र किस्ता उठ्तीमा संकुचन आएपछि गत वर्षको तुलनामा यस वर्ष मालपोत कार्यालयमा घरजग्गा रोक्का-फुकुवामा कमी
काठमाडौं । लगानीयोग्य रकम (तरलता) अभाव र ब्याजदर चर्किंदा बैंकबाट कर्जा लिने ऋणीहरु घटेका छन् । देशको समग्र अर्थतन्त्रमै मन्दी छाएर व्यापार व्यवसायदेखि ऋणीको व्यवहार बिग्रिएपछि बैंकको ऋण असुलीमा समेत असर परेको भूमि व्यवस्थापन तथा अभिलेखको तथ्यांकले देखाउँछ ।
चालु आर्थिक वर्षको पहिलो सात महिना (साउन–माघ)मा देशभरी एक लाख ९७ हजार ६७ घरजग्गा मालपोत कार्यालयमा धितो बन्धक (दृष्टिबन्धक) राखेर बैंकबाट ऋण लिएको देखिन्छ । गत वर्षको यसै अवधिमा बैंकले ३ लाख १७ हजार ३१८ घरजग्गा धितो राखेर ऋण प्रवाह गरेका थिए ।
सात महिनाको अवधिमा एक लाख ३३ हजार २७७ ऋणीले बैंकको कर्जा चुक्ता गरी घरजग्गा फुकुवा गर्न सकेका छन् । जबकी, गत वर्षको यसै अवधिमा बैंकको ऋण चुक्ता गरी एक लाख ९० हजार ९२८ घरजग्गा फुकुवा भएका थिए ।
यसको मतलव, यस वर्ष बैंकको नियमित किस्ता बुझाएर कर्जा चुक्ता गरी आफ्नो धितो फुकुवा गर्ने घटेका छन् । पछिल्लो समय पत्रपत्रिकामा आइरहेका धितो लिलामका सूचनाहरुले पनि खराब ऋणी (ऋण तिर्न नसक्ने) बढेको देखाउँछ । अहिले पत्रपत्रिका बैंकको धितो लिलामका सूचनाले भरिने गरेका छन् ।
नेपालका बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा घरजग्गा धितो राख्ने चलन छ । बैंकबाट प्रवाह भएको कुल कर्जामध्ये दुई तिहाईभन्दा बढी कर्जाको धितो घरजग्गा नै राखिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । ऋणीको नाममा रहेको घरजग्गा धितो राखेर कर्जा प्रवाह गर्दा बढी नै सुरक्षित महशुस गर्ने गरेका बैंकले कर्जा असुली गर्न नसकेमा सोही धितो लिलाम बिक्री गरी असुली गर्छन् ।
कर्जा प्रवाह गर्दा बैंकले सम्बन्धित व्यक्तिको नाममा रहेको घरजग्गा मालपोत कार्यालयमा गएर बैंकको नाममा बन्धक राख्ने गर्छन् । कर्जा चुक्ता भएपछि मालपोत कार्यालमै गएर ऋणीको घरजग्गा फुकुवा गरिदिन्छन् । धितो बन्धक (रोक्का) राखेको घरजग्गा फकुवा नहुञ्जेल बिक्री वितरण वा अन्य बैंकमा धितो राखेर ऋण लिन पाइँदैन ।
घरजग्गा खरिद गर्नमात्र होइन, शैक्षिक, व्यवसायिक वा जुनसुकनै शिर्षकमा कर्जा लिनसमेत बैंकमा स्थिर सम्पत्ती (घरजग्गा) धितो देखाउनुपर्छ । यसको अलवा शेयर, सुनचाँदी वा अन्य स्थिर सम्पत्ती राखेर पनि कर्जा लिन सकिन्छ । नेपालमा सम्बन्धित परियोजना वा शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा प्रवाह ज्यादै न्यून हुने गर्छ ।
पछिल्लो समय तरलता अभाव, बढ्दो ब्याजदर, महंगी, बैंकको ऋण प्रवाहमा गरिएको कडाईका कारण कर्जा प्रवाह खुम्चिदै गएको छ । यस्तै, मन्दीका कारण व्यापार व्यवसाय चौपट भएपछि कर्जा असुलीमा समेत भएको छ । हिजो ८–९ प्रतिशत ब्याजदर हुँदा लिएको कर्जाको ब्याजदर बढेर अहिले १५ प्रतिशत नाघ्दा मासिक किस्ता बढेर पनि ऋणीले समयमै किस्ता बुझाउन सकिरहेका छैनन् ।
कुन वर्ष, कुन महिना, कति घरजग्गा रोक्का वा फुकुवा भए ?
महिना |
रोक्का (वर्ष २०७८) |
रोक्का (वर्ष २०७९) |
फुकुवा (वर्ष २०७८) |
फुकुवा (वर्ष २०७९) |
साउन |
५०४११ |
२८०८८ |
३११२५ |
१९९१३ |
भदौ |
६६५५८ |
३६२८९ |
३६८२३ |
१९९५६ |
असोज |
५७६१८ |
२४२५२ |
२९८८० |
१३३३९ |
कार्तिक |
३६६२३ |
२०५६४ |
२३५७२ |
१५५४६ |
मंसिर |
४१०७० |
२५६०८ |
२७८५० |
१८३७३ |
पुस |
३४०५३ |
३१३१० |
२३००२ |
२२३९० |
माघ |
३०९८५ |
३०९५६ |
१८६७६ |
२३७६० |
कुल |
३,१७,३१८ |
१९७०६७ |
१,९०,९२८ |
१३३२७७ |
स्रोत ः भूमि व्यवस्थापन तथा अभिलेख विभाग