भौतिक पूर्वाधारतर्फ बटम र अपर स्टेशन दुबैको सम्पुर्ण काम सकिएको र ११ वटा टावर जडान गर्ने काम समेत सकिएको बताइएको छ ।
काठमाडौं । तनहुँको बन्दिपुरमा निर्माण भइरहेको पाँचतारे होटलसहितको केवलकार परियोजना करिव सम्पन्न भएको छ । आगामी वैशाखमा केवलकारको परीक्षण सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
केवलकारको भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भएको छ । मेकानिकल पूर्वाधारतर्फको काम पनि करिव ८० प्रतिशत सम्पन्न भइसकेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए ।
भौतिक पूर्वाधारतर्फ बटम र अपर स्टेशन दुबैको सम्पुर्ण काम सकिएको र ११ वटा टावर जडान गर्ने काम समेत सकिएको बताइएको छ । रोप टांग्ने र क्याबिन फिट गर्ने काम बाहेक पावर स्टेशनको काम पनि सकिएको छ ।
फरक विशेषतासहित सञ्चालनमा ल्याउन लागिएको केवलकारका गोण्डलाभित्रै रेष्टुरेन्ट रहने र पाहुनाले त्यहाँ बसेर विभिन्न प्रकारका परिकारहरुको स्वाद लिँदै मनमोहक प्रकृतिको मज्जा लिन पाउनेछन् । यतिसम्म कि, केवलकारबाट यात्रा गर्दा बिचमा पर्ने मन्दिरमा फुलसमेत चढाउन सकिने हुँदा यात्रा थप रोमाञ्चक हुनेछ ।
बन्दीपुरको ठुलढुंगादेखि १ हजार ७ सय मिटर बन्दीपुर बरालथोकसम्म केवलकार चल्नेछ ।
साढे तीन करोड लगानी
पाँचतारे होटेलसहितको बन्दिपुर केवलकार परियोजना पर्यटनको एउटा महत्वाकांक्षी प्रडक्ट हो भन्दा फरक नपर्ला । पहाडको रानी भनेर चिनिने बन्दिपुरलाई पर्यटनको हब बनाउने उद्देश्यसहित बन्दिपुर केवलकार एन्ड टुरिजम लिमिटेडेले ठूलो लगानी गरेको हो ।
केवलको अपर स्टेशनमा १७ तले बहुउद्देश्यीय भवन बनेको छ, जसलाई ‘क्वीन टावर’ नाम दिइएको छ । सोही १७ तले भवनभित्रै केवलकार ल्यान्ड हुनेछ । ‘अपर स्टेशनमा रहने भवनको ग्राउण्ड फ्लोर केवलटारको ल्यान्डिङ प्वाइन्ट हो’ अध्यक्ष शर्माले भने, ‘केवलकार १७ तल्ले होटलभित्रै केबलकार छिर्नेछ र भवनभित्रै यात्रुलाई ओरालिने छ ।’
सबैभन्दा तल्लो बेसमेन्टमा ३० वटा गाडी पार्किङ गर्न मिल्ने बनाइएको छ । ग्राउण्ड फ्लोरमा रिसेप्सन, ल्याडिङ स्टेशन रहने छ । यस्तै, बाहिर ओपन डाइनिङ रहनेछ । भवनको पहिलो तलामा रेष्ट्रो जोन र १५० जना अटाउने सभाहल रहने छ जसमा स्थानीयदेखी विदेशी परिकारको स्वाद लिन पाइने छ ।
भवनको दोस्रो तलादेखी १०औं तलासम्म होटल सञ्चालन हुने बताइएको छ । ८० वटा कोठा रहने होटेल तनहुँकै पहिलो पाँचतारे होटल हुनेछ ।
अहिलेसम्म सम्पन्न भएका कामहरु
रोप टांग्ने र क्याबिन फिट गर्ने काम सकिएपछी परिक्षणका लागि एक महिना ढुंगामात्र र केही महिना कम्पनीकै मान्छेमात्र बोक्ने काम हुनेछ । केवलकारले टियुभी सर्टिफिकेट प्राप्त भएपछी मात्र केवलकार व्यवसायिक रुपमा सञ्चालनमा आउने शर्माको भनाई छ ।
केवलकार सञ्चालन गर्नुभन्दा अगाडि गर्नुपर्ने पुनः सर्वेक्षणको काम पनि सकिएको छ । केवलकारमा रहने १९ मध्ये १७ गोण्डेलाले यात्रु ओसार्नेछन् । हरेक डिब्बाको ८ जना यात्रु क्षमता रहनेछ ।
नियमित केवलकार सञ्चालनको ३ महिनापछि ६ वटा रेस्ट्रो गोण्डोला जडान गरिने बताइएको छ । केबलकार भित्रै रेष्टुरेन्ट र आरामदायी विस्तारको सुविधा उपलब्ध हुनेछ । केबलकारमा यो सुविधा साँझ ५ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्ने शर्माले बताए ।
अर्को ६ महिनापछी २ वटा एडभेन्चर गोण्डोला जडान गर्ने योजना छ, जुन पुर्णतया पारदर्शी (सिसा) हुनेछ ।
केवलकारको बटम स्टेशनमा बहुउद्देश्यीय भवन निर्माण सम्पन्न भएको छ । सोही भवनमा केवलकारमा आउने भिआइपि पाहुनाहरुलाई लक्षित गरी ‘भिआइपि लाउन्ज रुम’ सञ्चालन गरिनेछ ।
बटम स्टेशनमा बालबालिकालाई लक्षित गरी बाल उद्यान, १४० मिटरको जीप लाइन, १४० मिटरकै स्काइ साइक्लीङ सञ्चालनको तयारी छ ।