सिमेन्ट निर्यातमा आर्थिक वर्ष ०८०/८१ को सुखद सुरुवात भएको छ ।
काठमाडौं । मन्दीका कारण आर्थिक गतिविधिहरु सुस्त भइरहेका बेलामा सिमेन्ट तथा क्लिंकर निर्यात भने उत्साहजनक भएको छ ।
साउन महिनामा साढे २३ करोड रुपैयाँ मूल्यको सिमेन्ट तथा क्लिंकर भारत निर्यात भएको छ । अघिल्लो साउनमा ४९ लाख २९ हजारको मात्रै सिमेन्ट निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।
सिमेन्ट निर्यातमा आर्थिक वर्ष ०८०/८१ को सुखद सुरुवात भएको छ ।
वर्ष दिनअघि २४ असार ०७९ मा व्यवसायिक घराना आरएमसी ग्रुपको पाल्पा सिमेन्ट उद्योगले पहिलो पटक ‘तानसेन’ ब्रान्डको सिमेन्ट सुनौली हुँदै भारत निर्यात गरेको थियो ।
अहिले सिमेन्ट निर्यात गर्ने उद्योग चार पुगेका छन्, जसमा पाल्पासहित अर्घाखाँची, बालाजी र सिजी सिमेन्ट रहेका छन् । अर्घाखाँची सिमेन्ट उद्योगले ३० असोजदेखि सिमेन्ट निर्यात गर्न सुरु गरेको थियो भने बालाजीले २९ जेठ ०८० र सिजीले हालै २१ भदौदेखि सिमेन्ट निर्यात सुरु गरेका हुन् ।
सिजीले सिमेन्ट निर्यातका लागि भारतको चर्चित व्यवसायिक घराना अदानी ग्रुपसँग रणनीतिक साझेदारी गरेको छ । सिजीले आफ्नै ब्रान्डमा नभएर अदानी ग्रुपले उत्पादन गर्ने ब्रान्डमा सिमेन्ट निर्यात थालनी गरेको बताइन्छ ।
सिमेन्ट निर्यातको बढ्दो ग्राफ
गत आर्थिक वर्षमा पाल्पा र अर्घाखाँची उद्योगले करिव ७८ करोड मूल्य बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो । जसमध्ये ३७ अर्ब मूल्य बराबरको सिमेन्ट तथा क्लिंकर अर्घाखाँची उद्योगले निर्यात गरेको सञ्चालक पशुपति मुरारकाको भनाई छ ।
यो वर्ष सिमेन्ट निर्यात गर्ने उद्योगको संख्या चार पुगेको हुँदा निर्यात पनि बढ्न अपेक्षा गरिएको छ । अर्घाखाँचीले मात्रै करिव डेढ अर्बको सिमेन्ट तथा क्लिंकर निर्यात गर्ने लक्ष्य राखेको उद्योगका सञ्चालक मुरारकाले बताए ।
गत आर्थिक वर्षको बजेटमार्फत तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले सरकारले स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई ८ प्रतिशतसम्म नगद अनुदान र १० करोडभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई महसुलमा १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेका थिए । सोही नीतिका कारण उद्योगीहरु भारततर्फ सिमेन्ट निर्यात गर्न केन्द्रित भइरहेका छन् ।
सिमेन्टभन्दा क्लिंकर निर्यात बढी
भारतीय बजारमा तयारी सिमेन्ट भन्दा सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ क्लिंकर निर्यात धेरै देखिन्छ । साउन महिनामा ७ अर्ब ५ करोड २४ लाख मूल्यको ९ हजार ५७३ टन सिमेन्ट निर्यात हुँदा १६ अर्ब ४४ करोड ६५ लाख मूल्यको २५ हजार ७४२ टन क्लिंकर निर्यात भएको भन्सार विभागले जनाएको छ ।
सिमेन्ट स्वदेशी कच्चा पदार्थमा आधारित हुनाले निर्यातमा तुलनात्मक लाभ धेरै छ । उद्योगीका अनुसार सिमेन्ट उत्पादनमा ९० प्रतिशतभन्दा बढी भ्यालु एड हुने गर्छ । त्यसैले पनि सिमेन्ट निर्यातमा ज्यादा जोड लगाउनुपर्ने व्यवसायीको भनाई छ ।
अहिले नेपालमा सञ्चालनमा रहेका उद्योगको वार्षिक उत्पादन क्षमता करिव दुई करोड ५० लाख टन रहेको छ । जबकी, बजारको माग कुल उत्पादन क्षमताको एक तिहाईमात्र रहेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाको भनाई छ ।