काठमाडौं । कित्ताकाट खुलेपछि कारोबार बढ्ने अपेक्षा विपरित भदौमा घरजग्गा किनबेच झनै घटेको छ । भदौमा देशभर ३५ हजार ६८६ घरजग्गाको मात्रै लिखत पारित भूमि व्यवस्थापन विभागले जनाएको छ ।
अघिल्ला महिना वैशाखमा ४२ हजार ४६१, जेठमा ५५ हजार ६९, असारमा ४८ हजार ७७१, साउनमा ३९ हजार २६३ घरजग्ग किनबेच भएका थिए । भदौमा कारोबार बढ्ने अनुमान गरिएकोमा झनै घटेको छ ।
भूउपयोग नियमावली २०७९ जारी भएसँगै ०७९ असारदेखि देशभर कित्ताकाट करिव ठप्प थियो । हालैमात्र सरकारले भूउपयोग नियमावलीको पहिलो संसोधनमार्फत रोकिएको कित्ताकाट फुकुवा गरेको छ ।
कित्ताकाट फुकुवा भएपछि घरजग्गा किनबेच बढ्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महत ढुक्क थिए । उनीहरुले सार्वजनिक कार्यक्रमहरुमा समेत कित्ताकाट फुकुवा गरिएको हुँदा अर्थतन्त्र चलयमान हुने भाषण गर्दै आइरहेका थिए ।
०७९ भदौमा ३४ हजार ७२० घरजग्गा किनबेच भएका थिए । यस्तै, ०७८ भदौमा ७० हजार ९० घरजग्गा किनबेच भएको देखिन्छ । तरलता अभाव, चर्को ब्याजदर, कित्ताकाट ठप्प भएर सुस्ताएको घरजग्गा कारोबार अहिले अवस्था सहज बन्दै जाँदासमेत बढ्न सकेको छैन ।
भदौमा देशभरका मालपोत कार्यालयबाट एक लाख २० हजार सेवा प्रवाह भएका छन् । यस्तै, भदौ महिनामा ३५ हजार ४३६ घरजग्गा रोक्का गरिएका छन् भने २४ हजार १४ घरजग्गा फुकुवा भएका छन् । बैंकबाट ऋण लिनका लागि घरजग्गा बैंकको नाममा मालपोतमा रोक्का राख्नुपर्ने हुन्छ । पुरै ऋण चुक्ता भएपछि रोक्क जग्गा फुकुवा हुने व्यवस्था छ ।
भदौमा कहाँ कति किनबेच
भदौ महिनामा सबैभन्दा धेरै घरजग्गा सुनसरीको इनरुवा मालपोतबाट किनबेच भएका छन् । एक महिनामा इनरुवाबाट १८ सय ७१ घरजग्गा किनबेच हुँदा जनकपुर मालपोतबाट १४ सय ९, भद्रपुरबाट १३ सय ९९, मोरङको बेलवारीबाट १३ सय २१, नेपालगञ्जबाट ११ सय १८, राजविराजबाट एक हजार ८८ घरजग्गा किनबेच भएको विभागको तथ्यांक छ ।
काठमाडौंमा साढे ३६ सय घरजग्गा किनबेच
भदौ महिनामा काठमाडौं उपत्यकाभित्र रहेका नौवटा मालपोत कार्यालयबाट ३६ सय ४६ घरजग्गा किनबेच भएका छन् । जसमध्ये सबैभन्दा धेरै लगनखेल ललितपुर र भक्तपुर मालपोतबाट समान ८४०–८४० घरजग्गा किनबेच भएको विभागको तथ्यांक छ ।
ललितपुरको गोटीखेलबाट १६, डिल्लीबजारबाट १७४, जावहिलबाट ४०७, कलंकीबाट ५९४, साँखुबाट ३६७, मनमैंजुबाट २७३ र टोखाबाट १३५ घरजग्गा किनबेच भएका छन् ।
तीन अर्ब राजश्व संकलन
भदौ महिनामा देशभरका मालपोत कार्यालयबाट तीन अर्ब चार करोड ५९ लाख रुपैयाँ राजश्व संकलन भएको छ, जसमध्ये रजिष्ट्रेसन दस्तुरवापत एक अर्ब ९९ करोड र पुँजीगत लाभकरवापत एक अर्ब नौ करोड रुपैयाँ संकलन भएको छ ।
अघिल्लो महिना साउनमा दुई अर्ब ९९ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । भदौमा घरजग्गाको लिखत पारित घटे पनि राजश्व संकलन भने सामान्य बढेको विभागको तथ्यांकले देखाउँछ ।
२०८० वैशाखमा तीन अर्ब १० करोड, जेठमा तीन अर्ब ७५ करोड र असारमा चार अर्ब २३ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।