व्यक्तिगत जमानी बस्ने व्यक्ति एकाकर घरपरिवारको सदस्य हुनुपर्छ । राष्ट्र बैंकले श्रीमान–श्रीमती, बुवा–आमा, सासु–ससुरा, नछुट्टिएको दाजु–भाई, भाउजू–बुहारीलाई एकै घरपरिवारका सदस्य मानेको छ ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा घरजग्गा कर्जा लिन जाँदा व्यक्तिगत जमानी (पर्सनल ग्यारेन्टी) बस्ने परिवारको सदस्य पनि सँगै लैजानुपर्ने हुन्छ । बैंकहरुले व्यक्तिगत जमानी नराखी एउटै व्यक्तिलाई विश्वास गरेर ऋण दिँदैनन् ।
‘यदि भोलि ऋण लिएको व्यक्तिले समयमा साँवा तथा ब्याज नबुझाए मैले तिर्नेछु’ भनेर व्यक्तिगत जमानी बस्नुपर्ने एनएमबि बैंककी अफिसर श्रद्धा अमात्यले बताइन् । ऋण लिने व्यक्तिमाथि भवितव्य आइलागेमा, काम गर्न नसकेमा, रोजगारी वा व्यापार गुमाएको खण्डमा वा असक्त भएर ऋण तिर्न नसक्ने अवस्था सिर्जना भएमा त्यो ऋणको जिम्मा लिने व्यक्ति बैंकले खोज्ने गर्छन् ।
व्यक्तिगत जमानी बस्ने व्यक्ति एकाकर घरपरिवारको सदस्य हुनुपर्छ । अरु बाहिरी मान्छे बस्न पाइँदैन । बैंकले ऋणको प्रकृति हेरिकन कुनै कुनै ऋणमा बाहिरको मान्छे पनि जमानीकर्ता राख्न सक्छन् । राष्ट्र बैंकले श्रीमान–श्रीमती, बुवा–आमा, सासु–ससुरा, नछुट्टिएको दाजु–भाई, भाउजू–बुहारीलाई एकै घरपरिवारका सदस्य मानेको छ । यी व्यक्तिको सम्बन्ध स्पष्ट हुने गरि खुलेमा बैंकले व्यक्तिगत जमानी राख्छन् ।
जमानीकर्ताको दायित्व केही गरि ऋणीले साँवा र ब्याज नतिरे बैंकको ऋणको जिम्मा लिनुपर्ने हुन्छ । ग्यारेन्टरले जमानी बस्दै ऋणीले नतिरे आफुले ब्यहोर्ने सहमती गरेर कागजपत्रमा ल्याप्चे लगाइसकेको हुन्छ । उनले भनिन्, ‘ऋण लिँदा एक जना जमानी बस्नैपर्छ ।’
बैंकले ऋणको सुरक्षाका लागि व्यक्तिगत जमानीकर्ता राख्ने गरेका हुन् । यसो हुँदा जमानी बस्ने व्यक्तिले ऋणीलाई बैंकको ऋण तिर्नका लागि घचघचाई रहन्छ । समाजमा मेरो इज्जत र प्रतिष्ठा छ, तैंले ऋण तिरिनस् भने मेरो इज्जत मेटिन्छ भन्दै घचघचाउन सक्छ । उनी भन्छिन्, ‘जमानीकर्ता एउटा ब्याकअप जस्तो हो, ऋणीले समयमा ऋण नतिरे जमानीकर्ताबाट असुली गरिन्छ ।’
व्यक्तिगत जमानीकर्ताको आम्दानी हुनैपर्छ भन्ने छैन । तर, उसको पनि आम्दानी भएमा बैंकलाई झन राम्रो हुन्छ । यदि ऋण लिने व्यक्तिको आम्दानीले भ्याउँदैन भने ऋणीले जमानीकर्ता वा एकाघर परिवारभित्रका सदस्यहरुको आम्दानीलाई पनि देखाउन सक्छ ।
जमानीकर्ताका जोखिम
अमात्यका अनुसार, व्यक्तिगत जमानी बस्ने व्यक्तिको पनि ऋण लिने व्यक्तिकै बराबर जिम्मेवारी हुन्छ । उ पनि ऋणी बराबर हो । भोलि केही गरि ऋणीले समयमा ऋण नतिरेको खण्डमा जमानीकर्ताको ऋण तिर्नुपर्ने दायित्व हुन्छ ।
जमानीकर्ताले कागजपत्र गर्दा नै भोलि ऋणीले समयमा ऋण नतिरेमा मैले तिर्नेछु वा त्यो ऋणको जिम्मेवारी मैले लिनेछु भनेर ल्याप्चे लगाएको हुन्छ । जमानी बसेपछि भोलि केही समस्या आउँदा जमानीकर्ताले ऋण तिर्नुपर्छ । व्यक्तिगत जमानीकर्ता उक्त ऋणप्रति सम्पूर्ण ‘रेस्पोन्सिवल’ हुनुपर्छ ।