तीन रोपनी क्षेत्रफलमा सवा अर्ब लगानी गरेर निर्माण गरिने अपार्टमेन्टमा ४५ युनिट आवास तयार हुने

काठमाडौं । जलविद्युत कम्पनीमा लगानी गर्दै आइरहेको अपि पावर कम्पनीले रियल इस्टेट क्षेत्रमा पनि लगानी गर्ने भएको छ । अपिले ललितपुरको प्रिमियम आवासीय क्षेत्र झम्सिखेलमा बहुतले आवास परियोजना अपार्टमेन्ट निर्माण गर्ने भएको हो ।
अपि पावर ग्रुपले रियल इस्टेटमा लगानी गर्न २१ करोड पुँजीको अपि इन्फ्रा लिमिटेड कम्पनी स्थापना गरेको छ । अपार्टमेन्ट निर्माणका लागि झम्सिखेलमा तीन रोपनी जग्गा समेत खरिद गरिसकेको कम्पनीले जनाएको छ ।
कम्पनीले झम्सिखेलमा एक अर्ब २० करोड रुपैयाँ लगानी गरेर १० तलाको अपार्टमेन्ट निर्माण गर्ने भएको हो । अपार्टमेन्टमा ४५ वटा सुविधा सम्पन्न आवास युनिट रहनेछन् ।
अपार्टमेन्ट निर्माणका लागि कम्पनीको ‘रिजर्भ’ले नै पुग्ने कम्पनीको भनाई छ । अपार्टमेन्ट निर्माण गर्न थप ऋण वा हकप्रद शेयरको आवश्यकता नपर्ने कम्पनीले जनाएको छ ।
अपार्टमेन्ट निर्माण गरेर बिक्री गर्दा कम्पनीलाई २० करोडदेखि ३० करोड रुपैयाँसम्म आम्दानी हुने प्रक्षेपण गरिएको छ ।
स्प्रिङ वाटरमा पनि लगानी
अपि पावरले लगानी विविधीकरण गर्ने क्रममा रियल इस्टेट र उद्योगमा लगानी विस्तार गर्न लागेको हो । कम्पनीले कम्पनीले ‘अपि’ ब्रान्डमा पानी बजारमा ल्याउने तयारी गरेको हो ।
दार्चुलामा घट्टेगाडको पानी प्रशोधन गर्न प्लान्ट स्थापना गरेर आर्थिक वर्ष ०८१/८२ देखि उत्पादन गर्ने कम्पनीले लिएको छ । यसका लागि १ अर्ब ३५ करोड रुपैयाँ लगानीमा अपि स्प्रिङ लिमिटेड नामक कम्पनी स्थापना गरिएको छ । मिनरल वाटर र प्रोसेस्ड वाटर गरी दुई प्रकारको पानी उत्पादन गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले दार्चुलाको नौगड गाढ नदीमै ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत् आयोजनाबाट व्यावसायिक यात्रा शुरू गरेको थियो । कम्पनीका अनुसार अहिलेसम्म अहिले ६२.५ मेगावाटका आयोजना निर्माण सम्पन्न भइसकेका छन् ।
अपि पावरले दार्चुलामै ४० मेगावाटको अपर चमेलिया, तीनवटा सोलार आयोजना निर्माण गरी विद्युत उपत्पादन थालेको छ । नेपाल विद्युत प्राधिकरणले सोलार आयोजना निर्माणका लागि गरेको टेण्डरमा पनि सहभागी भएर आगामी आर्थिक वर्षमा थप ३० मेगावाटको सोलार आयोजना बनाउने तयारी गरेको कम्पनीले जनाएको छ ।