भान्सा व्यवस्थित र चिटिक्क होस् भन्ने जो कोही पनि चाहन्छ । त्यसका लागि गुणस्तरीय पकाउने भाँडा खरिद गरी आवश्यक र नियमित प्रयोगमा आउने भाँडाकुँडा र उपकरण मात्र भान्सामा राख्नुपर्छ ।
भान्सा सबैभन्दा बढी प्रयोग हुने कोठा हो । भान्सा कोठामा सामान धेरै र अव्यवस्थित तरिकाले राख्दा नराम्रो देखिन सक्छ । त्यसैले भान्साको क्षेत्रफललाई सही तरिकाले सरलीकरण गर्नु आवश्यक पर्छ ।
नयाँ–नयाँ उपकरण र पकाउने भाँडा किन्ने चाहना धेरैलाई हुन्छ । मन परेको सामान किनिहाल्ने बानीले भाँडाकुँडाको थुप्रो लाग्दै जान्छ । भान्सा कोठा भरिँदै जान्छ । सामान राख्ने अलग कोठाको अभावमा प्रयोग हुने/नहुने सबै भाँडा वा उपकरण एउटै ठाउँमा हुनाले भान्सा अव्यवस्थित र साँघुरो हुँदै जान्छ ।
भान्सा व्यवस्थित र चिटिक्क होस् भन्ने जो कोही पनि चाहन्छ । त्यसका लागि गुणस्तरीय पकाउने भाँडा खरिद गरी आवश्यक र नियमित प्रयोगमा आउने भाँडाकुँडा र उपकरण मात्र भान्सामा राख्नुपर्छ । यसो गर्दा भान्सामा खाली ठाउँ धेरै हुन्छ । कम सामान रहेको भान्सा सफा र व्यवस्थित देखिन्छ ।
केही उपाय अपनाएर आफ्नो भान्सा कोठालाई चिटिक्क बनाउन सकिन्छ ।
माइक्रोओभन हटाउनुहोस्
यस्तो सल्लाह तपाईंलाई मन नपर्न सक्छ । दैनिक जीवनमा उपयोगी भूमिका निर्वाह गर्ने यस्ता उपकरणलाई हटाउने यो कस्तो सुझाव हो ? भन्ने लाग्न सक्छ । तर, माइक्रोओभनबिना पनि खानपिनमा कुनै समस्या आइपर्दैन । माइक्रोओभनको काम चुलोले गर्छ । ओभनले खाना छिटो तताउने र समयको बचत गर्छ यसमा कुनै शंका छैन ।
तर चुल्होमा पकाएको वा तताएको खानाको स्वाद माइक्रोओभनमा तताएको भन्दा धेरै हदसम्म मीठो हुन्छ । ओभनले खानाको गुण र स्वादलाई घटाउने गर्छ । यति मात्र होइन, ओभनलाई त्यागे प्याकिङ गरिएका बजारिया खानाको बानी पनि हट्छ । आफै खाना पकाउने प्रेरणा मिल्छ । यसले तपाईंलाई सिर्जनशील बनाउनुको साथै भान्सा कोठालाई व्यवस्थित बनाउन मद्दत गर्छ ।
धेरै चक्कु–छुरी नराख्नुहोस्
धेरै मानिसको बानी हुन्छ, भान्सामा किसिम–किसिमका धेरै चक्कु राख्ने । जति धेरै चक्कु भए पनि प्रयोग गर्ने भनेको तीमध्ये एक वा दुई मात्र हो । भान्सामा तरकारी, मासुलगायत काट्न धेरै थरी चक्कु होइन, राम्रो खालको चक्कु आवश्यक पर्छ । एक जोडी मात्र राम्रो चक्कु राख्नुहोस् । र, बाँकी चक्कु हटाउनुहोस् ।
प्रयोग गर्ने भाँडा मात्र राख्नुहोस्
कतिपयको भान्सामा भएका सम्पूर्ण पुराना भाँडाकुँडा (जो वर्षौंदेखि चिनो वा सम्झनाको रूपमा पनि रहेका हुन्छन्) राखिएका हुन्छन् । ती भाँडा फाल्नुस् त भन्दैनौँ । तर, प्रयोगमा नआउने त्यस्ता भाँडाकुँडालाई भान्सामा अव्यवस्थित किसिमले राख्नुको साटो अन्य कोठामा व्यवस्थित तरिकाले पनि राख्न सकिन्छ । परिवारका सदस्य संख्याअनुसार सीमित र आवश्यक भाँडा मात्र भान्सामा राख्नु ठीक हो । प्रयोगमा आउने/नआउने भाडा छुट्याएर अन्यत्र राख्न सकिन्छ ।
अनावश्यक उपकरणबाट मुक्त हुनुहोस्
भान्सामा रहेको आवश्यक र अनावश्यक सामानबारे बुझ्नु जरुरी छ । प्रविधिको विकाससँगै जीवनलाई सहज बनाउन स–साना काम सम्पन्न गर्नका लागि पनि विभिन्न उपकरण बजारमा आउने गर्छन् । हातले वा साधारण चक्कुले सजिलै गर्न सकिने कामका लागि नयाँ–नयाँ उपकरण प्रयोग गर्छौं ।
]
अहिले हाम्रो भान्सामा हुने विविध उपकरण पहिले नहुँदा पनि काम चलेकै थियो । यहाँ प्रविधिलाई आत्मसात् गर्नुहुन्न भन्न खोजिएको होइन, तर सिर्जनशीलता नै हराउने गरी प्रविधि प्रयोग गर्नु उचित हुन्न । जस्तैः एउटै उपकरणले धेरै थरीको काम भइरहेको छ भने भिन्न–भिन्न कामका लागि अलग–अलग उपकरण बजारमा आयो भने त्यो खरिद गर्न मन लाग्छ ।
यसले हामीलाई हरेक सजिलो कामको लागि पनि कुनै निश्चित वस्तुमाथि निर्भर गराउँछ । गुणस्तरमा ध्यान नदिएर हामी सहज खोज्छौँ र विभिन्न उपकरण थुपार्दै भान्सालाई अव्यवस्थित बनाउँछौँ ।
पकाउने भाँडालाई सीमित गर्नुहोस्
कतिपयको भान्सामा खाना पकाउनका लागि चाहिने भाँडा प्रशस्त हुने गर्छन् । तर, ती सबै प्रयोगमा आउँदैनन् । प्रत्येक आकार र प्रकारका चपिङ बोर्ड राख्नुभन्दा एउटा बलियो चपिङ बोर्ड राख्नु उपयुक्त हुन्छ । भान्सामा कराही, प्यान, कुकर धेरै छन् तर तीमध्ये केही मात्र प्रयोग हुन्छन् । बाँकीले ठाउँ मात्र ओगटेका हुन्छन् । र्याकमा थोरै भाँडा राख्दा आकर्षक देखिन्छ र ठाउँको पनि बचत हुने गर्छ । केही उच्च गुणस्तरका सीमित भाँडाकुँडा राख्नुहोस् र अनावश्यक भाँडाकुँडा हटाउनुहोस् ।
वस्तुहरूलाई उचित रूपमा भण्डारण गर्नुहोस्
भान्सामा बर्षौंदेखि थुप्रो लागेका अनावश्यक वस्तु हटाउनुहोस् । आवश्यक सामानलाई कसरी भण्डारण गर्ने भन्ने कुराको निर्धारण गर्नुहोस् । यसमा रचनात्मक हुन सकिन्छ । भान्सामा प्रयोग गरिने मसलालाई व्यवस्थित ढंगले राख्न र्याकको स्थापना गर्नुहोस् ।
म्याद नाघेका मसलाका डब्बा, अचार, जाम, बटर आदिको बट्टालाई फाल्नुहोस् । स–साना गिलासलाई पनि भाँडा राख्ने र्याकको व्यवस्था गरी त्यसमा मिलाएर राख्नुहोस् । यसरी उचित तरिकाले सामानको व्यवस्थापन र भण्डारण गर्नाले भान्सा कोठा फराकिलो र सफा देखिन्छ ।