३-४ बर्षअघि १० करोड राजश्व उठाउन नसक्ने प्रमुख शहरका मालपोत कार्यालयबाट अहिले झन्डै दुई अर्ब रुपैयाँसम्म राजश्व उठ्न थालेको छ । गत आर्थिक बर्षमा एक अर्बभन्दा बढी राजश्व उठाउने मालपोत कार्यालय दर्जन बढी छन् ।

केही बर्ष अघिसम्म घरजग्गा कारोबार र राजश्व असुलीमा काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरु अग्रणी थिए । कुल राजश्वमा उपत्यकाका मालपोत कार्यालयकै योगदान ठूलो रहन्थ्यो ।
तर, अहिले परिस्थिती बदलिएको छ । काठमाडौं उपत्यकालाई पछाडि पार्ने गरी मोफसलमा घरजग्गा खरिद बिक्री बढेको छ । उपत्यकाभित्र खाली जमिन सकिँदै गएपछि घरजग्गा कारोबारको हटस्पट मोफसलका शहरहरु बन्न थालेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देखाउँछ ।
३-४ वर्ष अघि १० करोड राजश्व उठाउन नसक्ने प्रमुख शहरका मालपोत कार्यालयबाट अहिले झन्डै दुई अर्ब रुपैयाँसम्म राजश्व उठ्न थालेको छ । गत आर्थिक बर्षमा एक अर्बभन्दा बढी राजश्व उठाउने मालपोत कार्यालय दर्जन बढी छन् ।
मोफसलमै पहिलो बन्ने होडबाजी
काठमाडौं बाहिरको कुरा गर्ने हो भने एक समय पोखरा र चितवन घरजग्गा कारोबारमा अग्रणी थिए । तर, पछिल्लो समय पोखरा र चितवनलाई धनगढी र नेपालगञ्जले पनि जित्न थालेका छन् । राजश्व असुलीमा अझै पोखरा अग्रस्थानमा भए पनि कारोबार संख्यामा धनगढी र नेपालगञ्ज अगाडि पुगिसकेका छन् । अहिले सबैभन्दा बढी घरजग्गा कारोबार इटहरीमा हुन थालेको भूमि विभागको तथ्यांकले देखाउँछ । लुम्बिनी प्रदेशको राजधानी दाङतिर सरेपछि त्यहाँ पनि घरजग्गा किनबेच बढेको देखिन्छ ।
अहिले उपत्यका बाहिरका शहरमा पनि घरजग्गा कारोबार र राजश्व असुलीमा पहिलो बन्ने प्रतिस्पर्धा देखिन्छ । र, किनबेच बढेसँगै घरजग्गाको मूल्य पनि अचाक्ली बढ्न थालेको स्थानीय बताउँछन् । पोखरा, इटहरी, बुटवल, भैरहवा, चितवन लगायत शहरमा जग्गाको मूल्य उपत्यकाकै हाराहारी पुग्न थालिसकेको छ ।
केही बर्ष अघिसम्म पोखरा र चितवन सबैभन्दा बढी राजश्व उठाउने मालपोत कार्यालयमा थिए । उपत्यकापछि पर्यटकीय शहर पोखरा र कृषि तथा पर्यटनको केन्द्र चितवन घरजग्गाको कारोबार उच्च थियो । तर, अहिले झापा, मोरङ, सुनसरी, बारा, पर्सा, रुपन्देही, नेपालगञ्ज र धनगढी पनि घरजग्गा कारोबारको हटस्पट बनेपछि राजश्व संकलन पनि उच्च दरमा हुन थालेको छ ।

भूमि विभागको तथ्याङ्कले उपत्यका बाहिर घरजग्गा किनबेचमा इटहरी पहिलो र राजश्व असुलीमा पोखरा पहिलो देखिन्छन् । गत बर्ष सुनसरीको इटहरीमा मात्रै २७ हजार ९ सय ५५ घरजग्गा किनबेच भएको छ भने १ अर्ब १३ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यो तथ्यांकमा सुनसरीकै धरान मालपोत कार्यालयको तथ्यांक समावेश छैन् । पछिल्लो समय धरानमा घरजग्गा किनबेच स्थिर रहेको छ ।
पोखरा मालपोत कार्यालयबाट १३ हजार ८९५ घरजग्गा किनबेच हुँदा २ अर्ब ११ करोड ४९ लाख रुपैयाँ राजशव संकलन भएको छ । झापाको दुईवटा मालपोत भद्रपुर र दमकबाट ३५ हजार घरजग्गा किनबेच भएका छन् भने १ अर्ब ३० करोड राजश्व असुली भएको देखिन्छ ।
मोरङको विराटनगर र बेलवारी गरी दुईवटा मालपोत कार्यालयबाट गत बर्ष ४० हजार घरजग्गा किनबेच र १ अर्ब ८२ करोड राजश्व संकलन भएको छ । चितवन जिल्लामा रहेका चारवटा मालपोत कार्यालयबाट गत बर्ष २२ हजार घरजग्गा किनबेच भएका छन भने २ अर्ब ३३ करोड राजश्व संकलन भएको छ । दुई/तीन बर्ष अघिसम्म उपत्यकाबाहिर सबैभन्दा बढी कारोबार हुनेमा दरिने सिंगो चितवनलाई अहिले सुनसरीको एउटै क्षेत्र इटहरीले जित्न थालेको छ ।
गत बर्ष रुपन्देहीका बुटवल र भैरहवा मालपोतमा ११ हजारमात्र घरजग्गा किनबेच भएका छन् भने १ अर्ब ७९ करोड राजश्व संकलन भएको छ । रुपन्देहीमा अघिल्लो बर्ष ०७६/७७ मा ३० हजार घरजग्गा किनबेच भएका थिए । गत बर्ष कारोबार ह्वात्तै घटेर एक तिहाई मात्र किनबेच भएको तथ्यांकले देखाउँछ । रुपन्देहीमा कारोबार संख्या ठूलो नभएपनि घरजग्गाको मूल्य उच्च हुनाले राजश्व असुली भने धेरै देखिन्छ ।
दाङ, नेपालगञ्ज र कैलालीमा उछाल
कुनै समय घरजग्गा किनबेचमा खासै परिचित नभएको नेपालगञ्ज र कैलालीको धनगढीले बुटवल, पोखरा, चितवन, बारा, पर्सालाई जित्न थालेका छन् । काठमाडौं उपत्यका बाहिर घरजग्गा कारोबारको ट्रेन्ड बदलिँदो छ । परिचित हटस्पट शहरलाई नयाँ शहरले उछिन्न थालेका छन् ।

Image: Nepal Tourism Hub
रुपन्देही, चितवन, बारा, पर्सा, पोखरालाई कारोबारमा दाङले पनि पछाडि पारेको छ । गत बर्षमात्रै दाङका घोराही, लमही र तुल्सिपुर मालपोतबाट २९ हजार घरजग्गा किनबेच भएका छन् जुन रुपन्देहीको तुलनामा तीन गुना बढी हो ।
पछिल्लो समय पाँच नम्बर प्रदेश राजधानी दाङमा तोकेपछि त्यहाँ घरजग्गाको कारोबारमा उछाल आएको स्थानीय घरजग्गा कारोबारी बताउँछन् । यतिसम्म कि, प्रदेश पाँच (लुम्बिनी)को राजधानी तोकिएको दाङको देउखुरीमा घरजग्गा मूल्य अस्वभाविक बढ्न थालेपछि स्थानीय प्रशासनले कारोबारमा रोक लगाएको छ । दाङमा तुल्सिपुर र घोराही गरी दुईवटा उप–महानगरपालिका रहेका छन् ।
विभागको तथ्यांकले पश्चिम नेपालको नेपालगञ्ज र धनगढी कारोबारका हिसाबले हटस्पट बन्न थालेका छन् । गत बर्ष नेपालगञ्जमा २० हजार ६ सय घरजग्गा किनेबच भएका छन् भने झन्डै एक अर्ब (९१ करोड ३४ लाख) रुपैयाँ राजश्व संकलन भएको छ ।
यस्तै, कैलालीको धनगढी र टिकापुर मालपोत कार्यालयबाट १६ हजार ३ सय घरजग्गा किनबेच हुँदा १ अर्ब १४ करोड रुपैयाँ राजश्व असुली भएको छ । यी क्षेत्रमा घरजग्ग किनबेच लगायत जग्गा प्रशासन सम्बन्धि कामहरु धेरै हुन थालेको राजश्व असुलीबाट प्रष्ट हुन्छ । अघिल्लो बर्षको तुलनामा नेपालगञ्ज र धनगढी–कैलाली मालपोतबाट दोब्बर राजश्व असुली भएको हो ।
नेपालगञ्ज र धनगढी किन उछाल आयो ?
नेपालगञ्जमा आव ०७६-७७ मा २१ हजार १२० घरजग्गा किनबेच र ४८ करोड ५४ लाख रुपैयाँ राजश्व संकलन भएको देखिन्छ । तर, ०७७-७८ मा २० हजार ६ सय घरजग्गा किनबेच र ९१ करोड ३४ लाख राजश्व संकलन भएको छ । पश्चिम नेपालको व्यापारिक केन्द्र नेपालगञ्जमा तिब्र गतिमा बसाइ सराई बढिरहेको छ । बाँकेको नेपालगञ्ज र कोहलपुरमा ठूलो शहर बसिसकेको छ ।
.jpg)
Image: OkDam
पछिल्लो समय बाँकेको कोहलपुरमा आवासिय र व्यवसायिक घरजग्गा किनबेच बढेको छ । पहाडी र हिमाली भेगबाट बसाइ सर्नेको आकर्षण नेपालगञ्जमा देखिएको छ । पछिल्लो समय नेपालगञ्ज पर्यटनको पनि हब बन्दै गइरहेको छ । नेपालगञ्ज र कोहलपुरमा दुईवटा पाँचतारे होटल सञ्चालनमा आइसकेका छन् । सरकारले कोहलपुर र नेपालगञ्जलाई समेटेर मेगा सिटी निर्माण गर्ने तयारी थालेको छ ।
त्यसो त शहरको आसपासमा अझै जग्गाको मूल्य बढि नसकेको र आवासिय तथा व्यापारिक प्रयोजनका लागि उपयुक्त हुने ठहर गरी जग्गा किनेर राख्ने प्रवृत्ति बढेको बताइन्छ । नेपालगञ्ज–कोहलपुरको शहरी भेगमा जग्गाको मूल्य छोइनसक्नु छ । तर, शहरबाट २-४ किलोमिटर बाहिर जाने वित्तिकै १५-२० लाखमा भनेजस्तो घडेरी पाइने बताइन्छ । दुई बर्षअघिसम्म एक कट्ठा आउने पैसाले १० धुर जग्गा नआउने स्थानीय कारोबारी बताउँछन् ।
घरजग्गा कारोबारमा चम्किएको कैलाली जिल्लामा धनगढी र टिकापुरमा दुईवटा मालपोत कार्यालय छन् जहाँ गत बर्ष १६ हजार किनबेच र १ अर्ब १४ करोड राजश्व संकलन भयो ।
कैलाली जिल्लामा धनगढी, टिकापुर, अत्तरिया, सुखड र लम्की गरी पाँचवटा शहर रहेका छन् । यतिबेला सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जनताको बसाइ सराइको गन्तव्य बनेको छ, कैलालीका शहर ।
यो क्षेत्रमा कारोबार बढ्दै गएपछि जग्गाको मूल्य पनि अचाक्ली बढ्न थालेको बताइन्छ । दुई-चार बर्षअघि लाख रुपैयाँ कट्ठा पर्ने जग्गाको मूल्य अहिले ८-१० लाख पुगको छ भने १० धुरको ८-१० लाख रुपैयाँ घडेरीको मूल्य तीन/चार गुनासम्म बढेको स्थानीय घरजग्गा व्यवसायी बताउँछन् ।
भैरहवा-बुटवलमा बढ्दो आकर्षण

कुनै बेला देहातको रुपमा लिइने भैरहवा अहिले विकासे पूर्वाधार निर्माणले झकिझकाउ भएपछि समृद्ध शहरमा परिणत हुँदै गएको छ । अहिले भैरहवा उद्योग व्यवसाय सञ्चालन गर्नमात्र होइन, बसोबास गर्नका लागि पनि रोजाइमा पर्न थालेको छ । केही बर्षअघिसम्म पहाडी भेगबाट बसाइ सर्नेहरु बुटवल आसपासमै घडेरी किनेर बस्ने गर्थे । अहिले भैरहवासम्मै घरघडेरी बस्न थालेको देखिन्छ । बुटवल भैरहवा मुलुककै आधुनिक र सुविधा सम्पन्न शहरमा परिणत हुँदै गएपछि जग्गाको भाउ पनि छोइ नसक्नु बढेको छ ।
भैरहवा–बुटवल खण्डमा एउटै घडेरीको मूल्य करोडभन्दा बढी पर्न थालेको सिद्धार्थ ग्रुपका निर्देशक राजेश अग्रवाल बताउँछन् । बुटवलमा पाँच नम्बर प्रदेशको अस्थाइ राजधानी तोकिएको थियो । स्थाइ राजधानी पनि बुटवलमै रहने अपेक्षा विपरित दाङ सरेपछि घरजग्गाको किनबेच र भाउ पनि स्थिर बनेको घरजग्गा व्यवसायी बताउँछन् ।
तर, बुटवल भैरहवामा पूर्वाधार निर्माणले पाएको तिब्रता कारण प्रदेश राजधानी नहुँदैमा आकर्षण नघट्ने बताउँछन् स्थानीय । भैरहवा नाका, औद्योगिक शहर, लुम्बिनी, अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माण, तारे होटलको बाढी, स्वास्थ्य र शिक्षामा अग्रणी हुँदा बुटवल भैरहवा आफैमा समृद्ध रहेको अग्रवाल बताउँछन् ।
अहिले भैरहवामा जग्गाको न्यूनतम सरकारी मूल्याङ्कन नै प्रतिकट्ठा करोडभन्दा बढी रहेको छ । भैरहवादेखि बुटवल खण्डमा घडेरी पनि किन्न नसक्ने गरी मूल्य बढेको अग्रवालको भनाई छ । त्यसैले उद्योग खोल्ने व्यवसायीले भैरहवा–परासी खण्डमा जग्गा किनेर उद्योग स्थापना गरिरहेका छन् ।
अहिले बुटवल भैरहवामा हाउजिङ परियोजना निर्माण हुन थालेका छन् । तिलोत्तमा होम्स, बोधिहोम्स र हब लुम्बिनी आवास परियोजनाले पनि बुटवल भैरहवाको आकर्षण थप्ने विश्वास गरिएको छ ।
किनबेच बढेसँगै चितवनमा पनि मूल्य बढ्दो

चितवनको भरतपुरमा जग्गाको सरकारी मूल्यांकन नै प्रतिकट्ठा २ करोड ८० लाख रुपैयाँसम्म तोकिएको छ । विगत १५ बर्षदेखि घरजग्गा कारोबारमा संलग्न तेज डेभलपर्सका सञ्चालक तेजप्रसाद पाठकका अनुसार अहिले चितवनको भरतपुर शहरमा भन्दा भित्रपट्टी जग्गाको किनबेच बढेको छ ।
अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको एरियातिर विकास निर्माणले तिब्रता पाउँदा घरजग्गा कारोबार पनि बढेको उनले सुनाए । विपि कोइराला क्यान्सर अस्पताल, रामपुर क्याम्पस (जहाँ रंगशाला बन्दैछ), पश्चिम चितवनका मेघौलीसम्म घरजग्गा कारोबार उछालिएको छ ।
क्यान्सर अस्पतालतिर १० धुरकै ५०-६० लाख रुपैयाँसम्म पर्छ । भरतपुरको १० र ११ नम्बरमा १० धुरको एक करोड पर्न थालेको छ । गितानागर साइटमा १० धुरलाई २५-३० लाख रुपैयाँ पर्छ । भित्रपट्टी १० धुरको १५-२० लाखमै पाइन्छ । सौराहामा आवासिय भन्दा पनि होटल खोल्नका लागि जग्गा किनबेच हुन्छ । त्यो क्षेत्रमा बढी डुवान हुने र जंगली जनावरको पनि डर हुनाले आवासीय प्रयोजनका लागि जग्गा किनबेच अत्यन्तै कम हुने पाठकले बताए ।
बारामा फास्ट्रयाकले हल्लाले नै बढायो मूल्य

संघीय राजधानी काठमाडौंलाई तराइसँग जोड्ने फास्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कहिले बन्ने हो यकिन छैन । तर, त्यही फास्ट ट्रयाक र विमानस्थलको हल्लाले बारा निजगढमा जग्गाको भाउ चुलीमा पुगेको स्थानीय घरजग्गा व्यवसायी राजन कुमार शाह बताउँछन् ।
शाहका अनुसार निजगढमा पछिल्लो ५ बर्षयता जग्गाको भाउ ७–८ गुणाले बढिसकेको छ । ‘०७१ सालसम्म महेन्द्र राजमार्ग आसपासमै कट्ठाको ४–५ लाखमै पाइन्थ्यो, तर अहिले निजगढको भित्रै पुग्दा पनि कट्ठाको ३० लाखभन्दा कम मूल्यमा पाउन कठिन हुन्छ ।’ उनी भन्छन् ।
निजगढमा अहिले जग्गा व्यवसायी र खरिदकर्ताको दैनिक भिड लाग्ने गर्छ । एउटै व्यक्ति र कम्पनीले ५० विघासम्मका प्लट किनेर राखेका छन् । बारा–पर्सा मुलुककै ठूलो र पुरानो औद्योगिक करिडोर हो । यहाँ ठूलाठूला उद्योगहरु सञ्चालनमा छन् । बीरगञ्ज, सिमरा, परवानीपुर लगायत ठाउँमा ठूला उद्योग सञ्चालन भइरहेको बताइन्छ । यो ठाउँमा उद्योग सञ्चालनका लागि व्यवसायीले ठूला ठूला प्लट किनेर राखेका छन् ।
इटहरीमा मूल्य चर्कियो

Image: GM Nepal
पूर्वी नेपालको इटहरी विराटनगर–धरान र पूर्व–पश्चिम राजमार्गको केन्द्रमा पर्छ । पछिल्लो समय तिब्र गतिमा विकास भइरहेको शहरको नाम लिँदा इटहरी पहिलो नम्बरमा पर्न थालेको छ । पछिल्लो २५ बर्षमा इटहरी व्यसायिक शहरमात्र बनेन, पूर्वी नेपालको रोजाइको आवासिय सहर पनि बनेको छ ।
अहिले इटहरी क्षेत्रमा घरजग्गाको भाउ चर्किएको छ । इटहरी उपमहानगरभित्र जग्गाको सरकारी मूल्यांकन नै प्रतिकट्ठा १ करोड ३० लाख रुपैयाँसम्म रहेको छ । पूर्वी नेपालका पहाडी र हिमाली क्षेत्रका मानिसहरुको बसाइ सराइका लागि र व्यापार व्यवसाय गर्नका लागि इटहरी अगाडि देखिएको छ । हालैमात्र भाटभटेनीले सबैभन्दा ठूलो स्टोर सञ्चालनमा ल्याएको छ । भाटभटेनी परिसरमा रहको केएफसीको आउटलेटमा पहिलो दिन किर्तिमानी ग्राहक आएका थिए । केएफसीका अनुसार, पहिलो दिन ८ हजार भन्दा बढी ग्राहकले बिल तिरेका छन् ।