इन्डिगोका घरको भित्र र बाहिर लगाउने सबै प्रकारका पेन्टहरु उपलब्ध छन्, इमल्सनदेखि डिसटेम्परसम्म, सस्तोदेखि महंगोसम्म । गुणस्तरका हिसावले बहुराष्ट्रिय ब्रान्डसँग बराबरीको हैसियत राख्ने इन्डिगोका उत्पादनहरु मूल्यमा नेपाली उपभोक्ताको आर्थिक अवस्थासँग सुहाउँदो रहेको कम्पनीको दाबी छ ।
काठमाडौं । नेपाली पेन्ट बजारमा विश्वासिलो पहिचान बनाइरहेको स्वदेशी ब्रान्ड इन्डिगो पेन्ट्सले उत्पादन क्षमता बढाएर ४ गुणा पुर्याउँदै छ । कम्पनीले अहिले भुमही–नवलपरासी‐भैरहवाको औद्योगिक कोरिडोरमा नयाँ उत्पादन प्लान्ट स्थापना गरिरहेको छ ।
परासीको उद्योग एक बर्षभित्र सञ्चालनमा आइसक्ने कम्पनीका सञ्चालक बेदु पाण्डेले बताए । निर्माणाधिन परासीको उद्योग सञ्चालनमा आएपछि दैनिक ७५ हजार लिटर-केजी पेन्ट उत्पादन हुनेछ । कम्पनीले उत्पादन क्षमता बढेपछि पूर्वदेखि पश्चिमसम्म देशैभर आक्रमक बजार विस्तार गर्ने रणनीति बनाएको छ । अहिले काठमाडौंसहित पोखरा, हेटौंडा, नारायगढ, बुटवल, भैरहवा, दाङ नेपालगञ्ज, सुर्खेत धनगढी हुँदै महेन्द्रनगरसम्म इन्डिगो पेन्ट्सका उत्पादन पुगेको कम्पनीका अर्का सञ्चालक तुलसी प्रसाद भुसालले बताए ।
‘हाल हाम्रो मुख्य बजार बागमति र लुम्बिनी प्रदेश हुन्, उत्पादन क्षमता बृद्धि हुनासाथै देशको पुर्वी भागसम्म बजार बिस्तार गर्ने छौं’ भुसालले भने, ‘परासीको फ्याक्ट्री सञ्चालनमा आउना साथ पूर्वदेखि पश्चिमसम्म आक्रमक बजार विस्तारमा लाग्छौं ।’
ब्यवसाय विस्तारका लागि रणनीति बनाउन अहिले पूर्वदेखि पश्चिमसम्म बजार अध्यन गरिरहेको पाण्डेको भनाई छ । अहिले इन्डिगोका देशभर ३ सयभन्दा बढी डिलर तथा बिक्रेताहरु रहेका छन् । इन्डिगो पेन्ट्सले काठमाडौंको फ्याक्ट्रीबाट हरेक प्रकारका गुणस्तरीय पेन्ट उत्पादन गर्दै आइरहेको छ । ‘हामीले बहुराष्ट्रिय कम्पनीसँग गुणस्तरमा प्रतिस्पर्धा गर्छौं, हामी गुणस्तरमा कुनै सम्झौता गर्दैनौं’ पाण्डेले भने, ‘गुणस्तरमा सम्झौता नगरेकै कारण बहुराष्ट्रिय कम्पनीसँग बजारमा प्रतिस्पर्धा गर्न सकेका हौं ।’
इन्डिगोका घरको भित्र र बाहिर लगाउने सबै प्रकारका पेन्टहरु उपलब्ध छन्, इमल्सनदेखि डिसटेम्परसम्म, सस्तोदेखि महंगोसम्म । गुणस्तरका हिसावले बहुराष्ट्रिय ब्रान्डसँग बराबरीको हैसियत राख्ने इन्डिगोका उत्पादनहरु मूल्यमा नेपाली उपभोक्ताको आर्थिक अवस्थासँग सुहाउँदो रहेको कम्पनीको दाबी छ ।
इन्डिगो पेन्ट्समा ग्राहकले दुई बर्षदेखि १० बर्षसम्मको वारेन्टी पाउँछन् । ‘वालमेट लोटस इफेक्ट पेन्टमा १० बर्षको वारेन्टी दिइरहेका छौं, यो एक्सटेरियर पेन्ट हो जसले पानी पर्दा घरका भित्ताबाट कर्कलाको पातबाट जस्तै पानी तर्किन्छ’ भुसालले भने ।
अहिले इन्डिगोका ३९ वटा प्रडक्ट बजारमा पुग्छन् । ‘हामी बहुराष्ट्रिय कम्पनीले बनाउने भन्दा एक/दुई प्रकारको पेन्ट्स बढी नै बनाउँछौं’ पाण्डे दाबी गर्छन्, ‘अहिलेसम्म नेपालमा फ्लोर पेन्ट कसैले बनाएका छैनन् जुन पार्किङ एरिया, भलिबल, टेवलटेनिस कोर्टमा लगाउने गरिरन्छ, अन्य कम्पनीहरुले इन्डियाबाट ल्याएर बिक्री गर्छन्, हामी आफै उत्पादन गर्छौं ।’
इन्डिगोका उत्पादनहरु ‘लिड फ्रि’ रहेको सञ्चालकद्वयको दाबी छ । ‘हामी हस्पिटल र स्कुलमा प्रयोग गर्ने वाटरबेस्ड इनामेल पनि उत्पादन गर्छौं जुन इनामेलमा पानी घोलेर लगाउने गरिन्छ, यो पेन्ट पनि नेपालमा अन्य उत्पादकसँग छैन’ उनीहरुले भने, ‘स्कुल र हस्पिटलमा स्वस्थमैत्री पेन्ट लगाउनुपर्छ, हामीले शिशा (लिड) नभएको पेन्ट उत्पादन गरिरहेका छौं ।’ इन्डिगोको इनामेलमा पनि सरकारले तोकेभन्दा निकै कम मात्रामा लिड रहेको दुबैको दाबी छ ।
कम्पनीले अझै एक-दुई नयाँ प्रडक्ट बजारमा ल्याउने तयारीमा थियो । तर, कोभिड महामारीले नयाँ प्रडक्ट ल्याउन रोकियो । अब छिट्टै नयाँ प्रडक्ट बजारमा ल्याउने तयारी भइरहेको भुसालले बताए । यसरी सुरू भएको थियो कम्पनी इन्डिगो पेन्ट्स १३ बर्षअघि स्थापना भएको स्वदेशी ब्रान्ड हो । बजारमा बहुराष्ट्रिय कम्पनीका पेन्टहरुको बिगबिगी रहेको बेलामा खुलेको इन्डिगोले अहिलेको उचाई लिन धेरै उतार चढाव ब्यहोरेको छ ।
यो ब्रान्डको स्थापना र बजार विस्तारको आफ्नै रोचक कथा छ । पेन्टको क्षेत्रमै काम गरिरहेका बेदु पाण्डे, शम्भु पाण्डे र तुलसी भुसाल तीन जनाले ५० लाख लगानी जुटाएर इन्डिगो पेन्ट्स सुरु गरेका थिए ।
केही गरौं न भन्ने कुराकानी हुन्थ्यो । तीनै जनालाई आफ्नै उद्यम गर्ने हुटहुटी जागेको थियो । तीनै जनाले जानेको काम पनि पेन्ट्सकै थियो ।
उत्पादन , ट्रेडिङ र मार्केटिङमा राम्रै अनुभव भएको हुनाले पेन्ट्स उद्योग खोलेर सफल हुन सकिन्छ भन्ने तीनै जनामा आत्मविश्वास थियो । तर, परिवारसँग छलफल गर्दा तीनै जनाका परिवार ठीकठाक चलिरहेको रोजगार छाडेर त्यति सजिलैै उद्योग खोल्न अनुमति दिने पक्षमा थिएनन् ।
‘हामी तिनै जनाको काम राम्रै चलिरहेको थियो, हुँदाखाँदाको जागिर र ब्यवसाय छाडेर उद्योग खोल्न दिने पक्षमा परिवार थिएनन्, तैपनि हामीले परिवारलाई कन्भिन्स गरेर सानो लगानीम उद्योग सुरु गरेका हौं’ भुसाल सम्झिन्छन्, ‘त्यतिबेलै नेपालमा बहुराष्ट्रिय र स्वदेशी ब्रान्डको बिगबिगी थियो, त्यस्तो बेलामा सानो उद्योगबाट पेन्ट्स उत्पादन गरेर बजारमा बिक्री गर्न कठिन पनि थियो ।’
‘परिवारको अनुमति नहुँदा पनि हामीले गर्न सक्छौं भनेर रिस्क मोलेका थियौं’ पाण्डे सम्झन्छन्, ‘अहिले हामीले बजारमा राम्रो पहुँच जनाउन थालिसकेका छौं ।’ शुरुमा मार्केटमा टिक्न गाह्रो थियो । उनले थपे, ‘हामी पनि लामो समय बहुराष्ट्रिय लगायतका कम्पनीमा काम गरेको अनुभव हुनाले मार्केटिङ गर्न सजिलो भयो ।’
डिस्टेम्पर, प्राइमर र वालपुट्टीबाट इन्डिगोको व्यवसायिक यात्रा सुरु भएको थियो । लामो समयसम्म यही व्यवसायमा काम गरेको हुँदा व्यवसायिक चिनजान पनि धेरै थियो । ‘हामीले मार्केटिङ र ब्रान्डिङमा जोड दियौं, ग्राहकलाई बुझायौं’ पाण्डे भन्छन्, ‘बजारमा बहुराष्ट्रिय ब्रान्डको प्रभुत्व रहेको बेलामा नामै नसुनेको ब्रान्डलाइ उपभोक्ताले सहजै पत्याउन सकेनन् ।’
साथीभाई, आफन्त र चिनजानका मान्छेहरुलाई कन्भिन्स गर्दै मार्केटिङ गरेको उनीहरु अझै भुलेका छैनन् । ‘बरु बाहिरको मान्छेलाई सम्झाउन बुझाउन सजिलो हुने रहेछ, चिनजानका साथीभाइ र इष्टमित्रलाई कन्भिन्स गर्न झनै गाह्रो रहेछ’ भुसालले भने, ‘हाम्रो निरन्तरको प्रयास तथा प्रडक्टको गुणस्तर र मूल्यका कारण विस्तारै इन्डिगोको बजार फैलिँदै गयो ।’
विगतमा उनीहरुलाई इन्डिगो पेन्ट्सको बारेमा सम्झाउन बुझाउन निकै मिहिनेत गर्नु परेको थियो । पाण्डे सम्झन्छन्, ‘इन्डिगो बजारमा आउँदा ग्राहकले नेपाली कलर लगाउन डराउँथे, नेपाली ब्रान्डप्रति विश्वास नै थिएन, मार्केट बहुराष्ट्रिय ब्रान्डको कब्जामा थियो, तर अहिले समय बदलिएको छ, नेपाली उपभोक्ताहरु स्वदेशी उत्पादनप्रति पुरै विश्वस्त भइसकेका छन् ।’
इन्डिगो पेन्ट्सको गुणस्तर बहुराष्ट्रिय ब्रान्डकै सरह छ । तर, मूल्य बहुराष्ट्रिय ब्रान्डको तुलनामा २५ प्रतिशत कम रहेको भुसाल सुनाउँछन् । उनी थप्छन्, ‘हामीसँग लिटरको ८० रुपैयाँदेखि १२-१५ सय रुपैयाँसम्मको पेन्ट्स उपलब्ध छ ।’