काठमाडौं । विश्व वातावरण दिवसको अवसर पारेर नबिल बैंकले दिगो घरकर्जा योजना सार्वजनिक गरेको छ ।
नबिलको केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी बैंकका सञ्चालक समिति अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले दिगो घरकर्जा योजनाको सुरु गरे । नबिल बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र यस कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पुर्याउने उनको विश्वास छ ।
नबिलको ‘दिगो घरकर्जा’ वातावरणमैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरी घर निर्माण गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको छ । यस स्किमले देशको आवास निर्माण क्षेत्रभित्र वातावरण मैत्री र सामाजिक रूपमा जिम्मेवार अभ्यासहरू प्रबद्र्धन गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले सुरुवात गरेको नबिल दिगो घरकर्जा योजनामा ग्राहकहरुले बैंकको आधारदर (बेसरेट)मा मात्र १ प्रतिशत प्रिमियम थपेर घरकर्जा प्राप्त गर्न सक्नेछन् । स्थिर ब्याजदर (फिक्सरेट)मा घरकर्जा लिन चाहने ग्राहकहरुले सात वर्षसम्मको लागि वार्षिक १०.४९ प्रतिशत ब्याजदरमै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
सात वर्षभन्दा बढी अवधि भएको स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षसम्मको लागि वार्षिक १०.४९ प्रतिशत र सात वर्षपछि बाँकी अवधिका लागि सात वर्षपछिकै बेसरेटमा १.५ प्रतिशत प्रिमियम जोडेर हुने ब्याजदरमा कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यो स्किमअन्तर्गत ग्राहकले १ वर्षलाई दुई लाखसम्मको निःशुल्क क्रेडिट कार्ड पनि उपलब्ध हुने बैंकले जनाएको छ । कर्जालाई ग्राहकले सरल मासिक किस्तामा अधिकतम २० वर्षसम्ममा चुक्ता गर्न सकिने छ ।
यो कर्जा योजना बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सकिने बताइएको छ । यो कर्जा प्राप्त गर्नका लागि ग्राहकले निर्माण हुन गई रहेको घरको हकमा घरको नक्सा पास पेस गर्नुपर्ने बैंकले जारी गरेको हुनुपर्नेछ ।
नक्सामा वर्षाको पानी संकलन र संरक्षण गर्ने प्रविधि, फोहर व्यवस्थापन गर्ने प्रविधि तथा किफायती ऊर्जा सामाग्रीहरू जस्तै सीएफएल, एलइडी लाइटहरूको प्रयोग, सोलार प्रविधिबाट पानी तताउने र किफायती बिजुलीको प्रयोग गरी खाना पकाउने प्रविधि जस्तै इन्डक्सन कुकिङ आदि प्रविधिहरू समावेश भएको हुनुपर्ने छ ।
दिगो आवासमा लगानी गर्न चाहने ग्राहकहरूलाई सस्तो ब्याजदर र सेवा शुल्कमा कर्जा प्रवाह गरीद समाजमा वातावरणमैत्री अभ्यासहरू अपनाउन प्रोत्साहन गर्ने बैंकको ठहर छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले नबिल बैकले दिगो बैंकिङ क्षेत्रमा गरेका विभिन्न कार्यहरूको बारेमा जानकारी गराएका थिए ।
बैकका वरिष्ठ नायब कार्यकारी अधिकृत सुजितकुमार शाक्यले नबिल दिगो घर कर्जा एउटा सुरुवाती प्रयास भएपनि यसले समाजमा पार्ने सकारात्मक असर तथा महत्वका बारेमा आफ्नो धारण राखेका थिए । उनले नबिलले ल्याएको यस कर्जाले सहुलियत दरमा कर्जा प्रवाह गरी यसले दिगो विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
यो कर्जा वातावरणमैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरेर नयाँ घर निर्माण गर्न वा निर्माण भइसकेको घर खरिद गर्न लिन सकिने छ । साथै, अन्य वित्तीय संस्थाबाट कर्जा लिइ वातावरणमैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरी निर्माण भइसकेको घरको कर्जा स्वाप गर्न पनि सकिने छ ।
नबिल बैंकबाट घरकर्जा उपयोग गरिरहेका ग्राहकहरूले निर्माण भइसकेको घरमा वातावरणमैत्री तथा किफायती ऊर्जा प्रविधि जडान गरी घरको मर्मत सम्भार गर्न थप कर्जा चाहिएमा पनि प्राप्त गर्न सक्ने बैंकको भनाइ छ ।
न्यूनतम कर्जा सीमा ७ लाख र अधिकतम सीमा ५ करोड रुपैयाँ रहेको छ ।