नेपालको नगरपालिका क्षेत्रका ८१ प्रतिशत र गाउँपालिका क्षेत्रमा ९७ प्रतिशत परिवार आफ्नै स्वामित्वको घरमा बसोबास गर्छन्
काठमाडौं । नेपालमा घरमा बसोबास गर्ने परिवारको कुल संख्या ६६ करोड ६० लाख ८४१ रहेको राष्ट्रिय जनगणना ०७८ ले देखाएको छ । जसमध्ये ८६ प्रतिशत परिवार आफ्नै स्वामित्व भएको घरमा बस्छन् भने १२.८ प्रतिशत परिवार भाडाको घरमा बसोबास गर्ने गरेका छन् ।
करिव एक प्रतिशत परिवारको बसोबास सरकारी वा संस्थागत कार्यालय र अन्य प्रकारका ठाउँमा रहेको देखिन्छ ।
आफ्नै स्वामित्वको घरमा बसोबास गर्ने परिवारको संख्या पछिल्लो ३० वर्षको अन्तरालमा ९२.३ प्रतिशतबाट करिव ६ प्रतिशतले घटेर ८६ प्रतिशतमा झरेको देखिन्छ । अर्थात्, मान्छेको तराई भेग र शहरतिर तिब्र बसाइसाइका कारण गाउँका घरहरु रित्तिँदै गइरहेको र शहरमा भाडामा बस्नेका संख्या बढ्दै गइरहेको तथ्यांकले देखाउँछ ।
नगरपालिका क्षेत्रका करिव ८१ प्रतिशत परिवार आफ्नै स्वामित्वका घरमा बसोबास गर्छन् भने करिव १८ प्रतिशत भाडाको घरमा बसोबास गरिरहेको देखिन्छ । गाउँपालिका क्षेत्रमा भने करिव ९७ प्रतिशत परिवार आफ्नै स्वामित्वको घरमा बसोबास गर्छन ।
भौगोलिक क्षेत्र अनुसार भाडाको घरमा बस्ने परिवार पहाडी क्षेत्रमा २० प्रतिशत, हिमालयमा पाँच प्रतिशत छन् । भाडामा बसोबास गर्ने परिवारको संख्या सबैभन्दा धेरै बागमति प्रदेशमा ३० प्रतिशत रहेको छ भने मधेश प्रदेशमा सबैभन्दा कम २.३ प्रतिशत रहेको छ । केन्द्रीय राजधानी काठमाडौं उपत्यकामा ठूलो जनसंख्या भाडको घरमा बस्दै आइरहेका छन् ।
जनगणना अनुसार ७१.७ प्रतिशत घर आवासीय प्रयोजनका लागि प्रयोग भइरहेका छन् भने १०.१ प्रतिशत गोठ, धनसार, मतानको रुपमा प्रयोग भइरहेको जनगणनाले देखाएको छ । यस्तै, ६.३ प्रतिशत घरहरु खाली रहेका छन् ।
घरको तलाअनुसार सबैभन्दा धेरै करिव ६० प्रतिशत घरहरु एकतले, २९ प्रतिशत घरहरु दुईतले, ९ प्रतिशत घरहरु तीनतले र दुई प्रतिशत घरहरु चार वा चारभन्दा बढी तलाका रहेको पाइएको छ ।
घर निर्माण भएको समयावधिको आधारमा घरहरुलाई वर्गीकरण गर्दा कुल घरमध्ये करिव ४२ प्रतिशत घरहरु ०७२ को भूकम्पपछि बनेको पाइएको छ । यस्तै, २१.६ प्रतिशत घरहरु आठदेखि १४ वर्ष बिचका, १८ प्रतिशत घरहरु १५ देखि २४ वर्ष पहिला बनेका देखिन्छ ।
मधेश प्रदेशमा ५७ प्रतिशतभन्दा बढी घरहरु पछिल्लो ७ वर्षभित्र बेको देखिन्छ भने बागमति प्रदेशमा यो अनुपात ३७ प्रतिशत रहेको छ ।
०५८ को जनगणना अनुसार देशमा ३७ प्रतिशत परिवारको बसोबास पक्की घरमा थियो भने यो अनुपात ०७८ को जनगणनामा बढेर ७६.५ प्रतिशत पुगेको देखिन्छ । पक्की घरको अनुपातमा देखिएको ठूलो वृद्धिले अर्धपक्की र कच्ची घरको संख्या र अनुपातलाई स्वभाविक रुपमा घटाउँछ ।