आज 'य:मरी पुन्ही' धुमधामले मनाइँदै, यस्ताे छ सांस्कृतिक र धार्मिक महत्व

यस पर्वमा विशेष गरी चामलको पिठोबाट बनाइने स्वादिष्ट पकवान य:मरी खाने र पूर्णिमाको दिन मनाइने भएकाले यस पर्वको नाम य:मरी पुन्ही रहन गएको हो

367B408218B985F-icon.png
313views
F767FC0CC820DA9-Screenshot 2024-12-15 092330.png

काठमाडौं । लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौं उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाउने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘य:मरी पुन्ही’ ।  

हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामले मनाइँदै छ । नेपाल संवतकाे दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्ही’ पनि भनिन्छ ।  

नेवार समुदायमा कृषिसम्बन्धी धेरै चाडपर्व हुने गर्दछन् । मौसमअनुसारको खानपान गर्न सिपालु नेवार समुदायले त्यही खाने पकवानको नामबाटै पनि चाडपर्वलाई परिचित गराएका छन् । मार्ग शुक्ल पूर्णिमाको दिन मनाइने य:मरी पुन्ही पनि यस्तै एउटा पर्व हो, जसको नाम स्वादिष्ट पकवान य:मरीबाट प्रख्यात छ ।  

‘यस पर्वमा विशेष गरी चामलको पिठोबाट बनाइने स्वादिष्ट पकवान य:मरी खाने र पूर्णिमाको दिन मनाइने भएकाले यस पर्वको नाम य:मरी पुन्ही रहन गएको हो,’ संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले भने । कृषि कर्म गर्नेका लागि मार्ग शुक्ल पूर्णिमा ठूलो पर्व हो । यस दिन पूर्वी पहाडी जिल्लाका किराँत समूदायले उँभौली पर्व मनाउँछन् । त्यस्तै उपत्यकाका नेवारभित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् । खस–आर्य समुदायले पनि यस दिनलाई ठूलो दिनको रूपमा कुलपूजा, देवाली पूजा गर्ने प्रचलन रहेको छ ।  

नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । य:मरी लाई पञ्चतत्वको रूपमा पनि स्वीकार गर्छन् । य:मरीमा धरतीको रूपमा चामलको पिठो, अग्निको रूपमा चाकु, जलको रूपमा पानी, आकाशको रूपमा खाली ठाउँ र वायुको रूपमा तिललाई लिइन्छ ।  

नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ । भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाटै य:मरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा याःमरीलगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो–सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गरिन्छ ।

धानका भकारीलगायत अन्नका भण्डारमा य:मरी चढाउँदा धनलक्ष्मी खुसी हुने र त्यसको प्रभावमा घर अन्नले भरिपूर्ण हुने र धनलाभ हुने जनविश्वास रहिआएको छ । यसरी चढाएको य:मरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन रहेको छ ।    

य:मरी पुन्हीको साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई योःमरी माग्ने प्रचलन पनि रहेको छ । यो एकप्रकारले देउसी, भैलोजस्तै प्रचलन हो । य:मरी माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो जसलाई ‘त्यसिंत्य’ भन्ने गरिन्छ ।  

य:मरी माग्दा यसरी गीत गाउने गरिन्छ :   
     
त्य छिं त्य, बक छिं त्य     
थाबले यागु सामा वलः, य:मरी छगः ती यः     
व्यूसा ल्यासे म्ह, मव्यूसा सितिकुती     
न्यग व्यूसा काय् वुई, छग व्यूसा म्याय् वुई     
तालापाता कुलिचां जुसें त्यः     
य:मरी माकु, उकि दुने चाकु     
व्यूसा ल्यासेचा, मव्यूसा बुरीचा  

अर्थात् चार माना, दुई माना अट्ने भाँडामा देऊ, यो सालको बाली भित्रियो य:मरी एउटा देऊ, य:मरी दिए तरुनी नदिए चाउरी बूढी, दुईवटा दिए छोरा जन्मिन्छ एउटा दिए छोरी जन्मिन्छ, मानापाथी भरिभरि देऊ, य:मरी मीठो, त्यसभित्र चाकु, दिए तरुनी नदिए बूढी ।  

उल्लेखित लोकभाका आजका नयाँ पुस्तालाई गाउन त आउँछ, तर उनीहरू सो भाका गाउँदै य:मरी माग्न भने जान छाडेका छन् । युवा वर्ग आधुनिक संस्कृतिमा रम्न थालेसँगै लोकसंस्कृतिबाट विमुख हुँदै जाँदा य:मरी माग्न छाडेपछि यो प्रचलन लोप हुँदै गएको संस्कृतिकर्मी बताउँछन् ।

य:मरी नयाँ धानको चामलको पिठोबाट बनाइन्छ । चामलको पिठोलाई शुद्ध घ्यू हालेर तातो पानी हाल्दै मुछ्नुपर्दछ । य:मरीका लागि ताइचिन धानको चामलको पिठो भए राम्रो मानिन्छ । नरम हुने गरी मुछिएपछि हावाबाट बचाउन सफा मलमलको कपडाले छोप्नुपर्छ । हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पिठो कडा हुने डर हुन्छ । पिठो कडा भएमा य:मरी बनाउन कठिन पर्ने र य:मरी फुट्ने डर हुन्छ ।  

त्यसपछि पिठोको डल्लोलाई चोर औँलाले छेड्नुपर्छ । औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ । पातलो डल्लो झन्डै शङ्खको आकारमा परिणत हुन्छ । यसरी गर्दै जाँदा माथिल्लो भाग मन्दिरको गजूरजस्तै चुच्चो पर्दै जान्छ र तल्लो भागमा खोक्रो ठाउँ बन्छ । सो खोक्रो भागमा चाकु राखेर बन्द गरिन्छ र य:मरी तयार हुन्छ । आजभोलि खुवा, मासु, गुँदपाक, मास, मुँगीलगायत सामग्री राख्ने प्रचलन पनि रहेको छ ।  

य:मरी तयार भएपछि एउटा भाँडोमा पानी उमाल्ने र उम्लिएको पानीको भाँडोमा पिँधमा प्वाल प्वाल भएको हाँसी (माटोको विशेष प्रकारको भाँडो) राखिन्छ । सो हाँसीमा य:मरी राखेर बाफले य:मरी पकाइन्छ । करिब पाँच मिनेट जति बफाएपछि य:मरी तयार हुन्छ । अचेल मः मः पकाउने भाँडाको प्रयोग गरिन्छ ।  

पानीको बाफबाट पकाइने यो पकवान निक्कै स्वादिलो हुन्छ । त्यसैले यो सबैलाई मन पर्दछ । सबैलाई मन पर्ने रोटी भएकाले नै यसको नाम य:मरी अर्थात् मनपर्ने रोटी रहन गएको इतिहास तथा संस्कृतिविद प्राडा पुरुषाेत्तमलोचन श्रेष्ठ बताउँछन् ।

य:मरीको सांस्कृतिक एवं धार्मिक महत्व

नेवार समुदायमा य:मरीको सांस्कृतिक एवं धार्मिक महत्व रहेको छ । धनसम्पत्ति वृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा य:मरी पुन्हीका दिन सबैले य:मरीसहित विभिन्न देवीदेवताको पूजा गरी दान गर्ने गरिन्छ ।  

विशेष गरी जन्मदिनलगायतका विशेष शुभकार्यमा य:मरी नभइनहुने पकवानमध्ये एक हो । य:मरी मठमन्दिर, मानिसको जोडा जन्मदिनजस्तो दुई वर्ष, चार वर्षको जन्मदिनको अवसरमा नभइनहुने पकवान भएको प्राडा श्रेष्ठले बताए । ‘बच्चाहरूको जन्मदिन मनाउँदा १२ वर्षसम्म य:मरीको माला बनाई पूजा गर्नुपर्ने र माला लगाइदिने चलन छ,’ श्रेष्ठले भने ।  

त्यस्तै छोरीको गर्भावस्थामा बच्चा जन्मिनु केही समयअघि माइतीबाट दहीचिउरा खुवाउन जाने चलन छ । त्यसवेला पनि कुनैकुनै समुदायमा एक सय आठवटा य:मरी लैजानुपर्ने चलन रहेको छ । त्यस्तै, नयाँ घर वा मन्दिर बनाउँदा अनि मन्दिरमा नयाँ पताका चढाउँदा पनि घर र मन्दिरको धुरीबाट पूजा गरेर य:मरी खसाल्ने चलन छ ।  

वैज्ञानिक हिसाबले पनि य:मरीको महत्व रहेको पाइन्छ । जाडो महिनामा मनाइने य:मरी पुन्हीमा पकाइने पकवान य:मरीमा रहेको चाकु र तिलले शरीरमा न्यानो दिने र चिसोबाट हुने विभिन्न रोगबाट समेत सुरक्षित राख्न मद्दत गर्दछ।

यस पूर्णिमाका रातलाई सबैभन्दा लामो रातको रूपमा पनि लिइन्छ । यस रातका सुत्न नपुग्ने मान्छेलाई जिन्दगीमा कहिले पनि सुत्न पुग्दैन भन्ने लोककथन पाइन्छ । यस पूर्णिमाको भोलिपल्टदेखि य:मरीको चुच्चो जतिकै दिन लम्बिँदै जान्छ भन्ने जनविश्वास पनि रहेको छ ।  

धार्मिक कथन

धार्मिक कथनअनुसार तत्कालीन पाञ्चाल देशमा सुचन्द्र नाम गरेका दानी महाजनको पतिपत्नी दुवैले गरिबप्रति अत्यन्त दया राखी खानेकुरा र लुगाफाटा दान गर्ने गर्दथे । उनीहरूको दयालु स्वभावको सर्वत्र चर्चा थियो । एक दिन कुवेरले यी दुवै पतिपत्नीको एकपटक परीक्षा गर्नुपर्‍यो भन्दै गरिबको वेश धारण गरी सुचन्द्रको घरआँगनमा माग्न गएछन् । गरिब रूप धारण गरेको कुवेरलाई सुचन्द्रदम्पतीले साह्रै श्रद्धापूर्वक घरभित्र लगेर नयाँ लुगा लगाउन दिई मीठोमीठो खाने कुरा खुवाएछन् । त्यसपछि गरिबरूपी कुवेरलाई साह्रै लज्जा भएछ र उनले आफ्नो सक्कली रूपमा दर्शन दिएछन् । केहीबेर ज्ञानगुणका कुराहरू गरेछन् । त्यसपछि य:मरी बनाउने विधि सिकाई बफाउने तामाको भाँडासमेत दिई अन्तर्ध्यान भएछन् ।  

कुवेरले सिकाएबमोजिम सुचन्द्रदम्पतीले नयाँ चामलको पिठोको य:मरी, कुवेर र अन्नपूर्ण देवी बनाई अन्नको भकारीमा चार दिनसम्म पूजा गरेछन् । य:मरी आफूले खाई अरूलाई पनि बाँडेछन् । त्यसपछि उनीहरूले अन्नहरू जति दान दिन्छन् त्यति नै भरिने भएछ । श्रीसम्पत्ति पनि अभिवृद्धि भएछ । कुवेरको प्रतीक य:मरी बनाई धानको भकारीमा राखी पूजा गर्नाले धान कहिल्यै पनि नसकिएको हुनाले त्यसवेलादेखि नै यो परम्परा चलेको हो भन्ने जनश्रुति छ ।  

यो चाड बौद्धमार्गीले पनि मनाउँदै आएका छन् । बौद्धमार्गीले य:मरीको प्रतीकलाई चैत्यको रूप हो भन्छन् भने हिन्दूमार्गी नेवारले सिन्हम्हुको प्रतीक भनेर अर्थ्याउँदै आएका छन् ।  रासस 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

9A924C74B81B5BC-gandaki_province1691914550_1024.jpg

गण्डकी प्रदेशमा पनि घट्यो घर–भवनको नक्सा पास

D2DD82ABE38BF6C-Project news.jpg

औद्योगिक सहर वीरगञ्‍जमा अपार्टमेन्ट कल्चर हुर्कन नपाउँदै मन्दीको मारमा